उम्मेदवार डा. न्यौपानेका चुनावी एजेण्डाहरू सार्वजनिक

उम्मेदवार डा. न्यौपानेका चुनावी एजेण्डाहरू सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उज्यालो नेपाल पार्टी (उनेपा) नेता तथा काठमाण्डु क्षेत्र नम्बर १० का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राकेश न्यौपानेले ‘उज्यालो नेपाल: सम्भावनाबाट समृद्धितर्फ’ अभियानअन्तर्गत दीर्घकालीन, नीतिगत तथा जनमुखी विकासका योजना सार्वजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले ‘उज्यालो नेपाल: सम्भावनाबाट समृद्धितर्फ’ शीर्षकअर्न्तगत आफ्नो मुख्य एजेण्डाहरू सार्वजनिक गरेका हुन् ।

उनले काठमाण्डु–१० लाई सूचना प्रविधि क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आईटी हब स्थापना, बीपीओ, केपीओ, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा सेन्टर र फिनटेक उद्यमलाई राष्ट्रिय उद्योगको रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए । स्टार्टअप प्रवर्द्धन, सहुलियत ऋण, बजार पहुँच र प्राविधिक सहयोगमार्फत डिजिटल रोजगारी सिर्जना गर्ने योजना पनि उनले अघि सारे ।

स्वास्थ्य क्षेत्र सुधारका लागि उनले ‘मेडिकल सिटी’ अवधारणा प्रस्तुत गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा, क्षेत्रीय स्तरमा गुणस्तरीय अस्पताल तथा टेलिमेडिसिन सेवा विस्तार गर्ने योजना सार्वजनिक गरे । स्वास्थ्य पर्यटन प्रवर्द्धनमार्फत विदेशी बिरामी नेपाल ल्याउने र नेपालीलाई विदेश जानु नपर्ने अवस्था सिर्जना गर्ने लक्ष्य उनले राखेका छन् ।

धार्मिक तथा सांस्कृतिक संरक्षणतर्फ उनले दक्षिणकाली क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन् । धार्मिक यात्रु सुविधा, सुरक्षा र पहुँच विस्तारका कार्यक्रम स्थानीय समुदायसँग सहकार्यमा सञ्चालन गरिने उनले बताए ।

पर्यटन सर्किट विकास, पुरातात्विक सम्पदा संरक्षण, पूर्वाधार विस्तार, स्मार्ट विद्यालय, औद्योगिक क्लस्टर तथा नवप्रवर्तन केन्द्र स्थापना गरेर स्थानीय रोजगारी र आर्थिक गतिविधि बढाउने उनको प्रतिबद्धता छ ।

न्यौपानेले आफ्नो अभियान केवल राजनीतिक घोषणा नभई दीर्घकालीन विकासको रोडम्याप भएको दाबी गर्दै नागरिक केन्द्रित शासन, कार्यान्वयन र जवाफदेहितामा जोड दिएका छन् ।