काठमाण्डुको विकासका लागि कांग्रेसको भिजन १० प्रतिज्ञापत्र सार्वजनिक

काठमाण्डुको विकासका लागि कांग्रेसको भिजन १० प्रतिज्ञापत्र सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय राजधानी काठमाण्डु उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाण्डु उपत्यका विकास प्रतिबद्धतापत्र भिजन १० सार्वजनिक गरिएको छ ।

काठमाण्डुमा आयोजित कार्यक्रमबिच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा ३ वटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको छ ।

प्रतिज्ञा पत्रमा ३ वटै जिल्लालाई एउटै शहरका रूपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत शहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।

उपत्यकाको बहन क्षमता बमोजिम शहरको व्यवस्थापन गर्दै बृहत्तर संघीय राजधानी पुन:संरचना योजना कार्यान्वयन गर्न काठमाण्डु उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

यसैगरी उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत शहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्ट सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रूपमा विकास गरिने प्रतिज्ञा पत्रमा छ ।

प्रतिज्ञा पत्रले उपत्यका भित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने भनिएको छ । उपत्यकाका नदीको संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरूलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्नेसमेत प्रतिज्ञा पत्रमा उल्लेख छ ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यावहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वशुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलाई विश्वस्तरीय बनाउँदै लगिने काठमाण्डु उपत्यकाका कांग्रेस उम्मेदवारहरूको प्रतिज्ञा गरेका छन् ।

प्रतिज्ञा पत्रले उपत्यकाको एकीकृत भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै शहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापन सहितको पुनरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्व चेतावनी सहितका कमाण्ड सेन्टर सञ्चालनमा ल्याउने विषय समेटेको छ ।

बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवा लक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमान असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउनेसमेत उम्मेदवारहरूले साझा प्रतिज्ञा गरेका छन् ।

उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीमा आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर बृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुन:भरण योजना तर्जुमा गरी कार्यान्वयन गरिनेसमेत उम्मेदवारहरूको प्रतिज्ञा पत्रमा छ ।

कार्यक्रममा बोल्दै महामन्त्री प्रदीप पौडेलले काठमाण्डु उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको भन्दै एक्लाएक्लैभन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको बताए ।

‘यस प्रतिज्ञा पत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्नका लागिसमेत मार्गदर्शन गर्नेछ,’ उनले भने ।

प्रतिज्ञा पत्रमा काठमाण्डु–१ का उम्मेदवार प्रबल थापा, काठमाण्डु २ का उम्मेदवार कविर शर्मा, काठमाण्डु ३ का उम्मेदवार रमेश अर्याल, काठमाण्डु ४ का उम्मेदवार सचिन तिमिल्सना तथा महामन्त्रीसमेत रहेका काठमाण्डु ५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ ।

काठमाण्डु ६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाण्डु ७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाण्डु ८ की सपना राजभण्डारी, काठमाण्डु ९ की नानू बास्तोला तथा काठमाण्डु १० का उम्मेदवार हिमाल कार्कीको प्रतिबद्धता समेत छ ।

कांग्रेसका तर्फबाट ललितपुर १ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर २ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले समेत प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाएका छन् ।

भक्तपुर १ का उम्मेदवार किरण न्यौपाने र भक्तपुर २ का उम्मेदवार कबिर राणाको पनि प्रतिबद्धता रहेको छ ।