काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री अर्यालले राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान कार्य सम्पन्न भएको भन्दै प्रधानमन्त्रीको अभिलाषा बमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन गर्ने कार्य सम्पन्न भएको उल्लेख गरे ।
लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचनमार्फत जनादेश लिनु संवैधानिक र कानूनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै गृहमन्त्री अर्यालले निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत््वपूर्ण उपलब्धि हासिल भएको बताए ।
मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
उनले निर्वाचनको मतदानपश्चात मतगणनाको कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका निमित्त सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।
गृहमन्त्री अर्यालले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको भन्दै मतदानमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण आमाबुवा, दिदीबहिनी, दाजुभाइहरूप्रति उच्च सम्मानसहित धन्यवाद व्यक्त गरेका छन् ।





प्रतिक्रिया