काठमाण्डु- झापा–३ र धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् ।
झापा-३ मा रास्वपाका प्रकाश पाठकले प्रारम्भिक अग्रता लिएका छन् । ६ हजार ४३७ मतगणना हुँदा रास्वपाका पाठकले २२८१ मत ल्याउँदै अग्रता लिएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन दोस्रो र श्रम, संस्कृति पार्टीका दिपक तिम्सिना तेस्रो स्थानमा रहेका छन् । लिङ्देनले १६०७ मत ल्याएका छन्, भने तिम्सिनाले ७८८ मत ल्याएका छन् ।
त्यस्तै नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले ५१०, एमालेका हरिबहादुर राजवंशीले ६२० र नेकपाका डिल्लीराम घिमिरेले ७७ मत ल्याएका छन्। क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको छ । यस क्षेत्रको मतगणाना एउटै हलको तीन स्थानमा गणना भइरहेको छ ।
यस्तै, धनुषा–३ मा पनि रास्वपाका उम्मेदवार मनिष झा अग्रस्थानमा छन् ।
हालसम्मको मत परिणाम अनुसार रास्वपाका झा १३ हजार ५०४ मत प्राप्त गरी अगाडि छन् भने नेपाली कांग्रेसका विमलेन्द्र निधि ३ हजार ७६४ मतका साथ दोस्रो स्थानमा छन् । त्यसैगरी एमालेकी जुली कुमारी महतो १ हजार ५९९ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।
यता, धनुषा–१ मा हालसम्म मतगणना सुरू हुन सकेको छैन । रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज गरिए पनि मतपत्रमा चुनाव चिन्ह कायमै रहेको र खसेको मतलाई के गर्ने भन्ने विषयमा विवाद हुँदा मतगणना हालसम्म सुरु नै हुन सकेको छैन ।




प्रतिक्रिया