काठमाण्डु- प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ।
सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्।
जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने छ। सम्पन्न मतगणनाको परिणाम अनुसार महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ।
महतोले कुल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सकेनन्।
त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो निर्वाचित भएका छन् ।
महतोले ४२ हजार ५१२ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले जम्मा ८ हजार ५२३ मत प्राप्त गरे । महतो तेस्रो स्थानमा रहे ।
यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ मतको ६२.०८ प्रतिशत अर्थात् ७७ हजार ७८९ मत खसेको थियो। त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका १५४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐन अनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।
जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन्।
यस पटक जिल्लाका चारवटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको सङ्ख्या ह्वात्तै बढेको हो।




प्रतिक्रिया