थिम्पु- भुटानको उत्तरपश्चिमी क्षेत्रस्थित शिन्ताफु हिमताल विस्फोट हुँदा भारत र बंगलादेशसम्मै असर पर्ने अवस्था आएको छ।
हिमताल फुटेपछि आएको बाढीले भारतका पश्चिम बंगाल र आसाम राज्यमा आकस्मिक बाढी आएको छ। भुटानबाट बग्ने नदीमा पानीको बहाव बढेपछि दुवै राज्यका नदी तटीय क्षेत्रमा बाढीको चेतावनी जारी गरिएको छ।
भुटानको गासा जिल्लामा बिहीबार साँझ शिन्ताफु हिमताल विस्फोट भएर हिमताल विस्फोटजन्य बाढी आएको हो। बाढीले मो छु नदी आसपासको पूर्वाधारमा क्षति पुर्याएको छ। भुटानको चर्चित गासा जिल्लामा रहेको प्राकृतिक तातोपानी कुण्ड ‘गासा छाछु’ परिसरसमेत बाढीले बगाएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन भइरहेको अधिकारीहरूले जनाएका छन्।
भुटानी अधिकारीहरूका अनुसार बाढी आउनुअघि नै जोखिम क्षेत्र खाली गराइएकाले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
शिन्ताफु हिमताल मो छु नदीको उद्गम क्षेत्रमा अवस्थित छ। भुटानमा सम्भावित जोखिमयुक्त भनेर पहिचान गरिएका १७ वटा हिमतालमध्ये यो पनि एक हो।
शिन्ताफु हिमताल वाकिला पर्वतको फेदीमा अवस्थित छ। शिन्ताफु हिमतालको प्राकृतिक बाँध फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको अनुमान गरिएको छ।
बाढीको पानी पुनाखा क्षेत्रनजिकैको स्रिगाङ हुँदै अघि बढेको छ। यो क्षेत्र पुनाखा जोङबाट करिब आठ किलोमिटर दूरीमा पर्छ। पानीको बहाव भारततर्फ अघि बढिरहेकाले सीमावर्ती क्षेत्रका बस्तीमा जोखिम बढेको छ।
हिमताल विस्फोट भएर आएको आकस्मिक बाढीले पुनाखा क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको छ। बाढीका कारण धानखेत डुबानमा परेका छन् भने केही सडक अवरुद्ध हुँदा स्थानीय आवागमन प्रभावित भएको छ। बाढीले पुनाखाको जोमलिङथाङ क्षेत्रसहित आसपासका बस्ती र पूर्वाधारमा क्षति पुर्याएको छ।
पूर्वसतर्कताका कारण बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको छैन। तर, स्थानीयका धानखेतमा क्षति पुगेको छ। केही सडकमा बाढीले बगाएर ल्याएको गेग्रान र माटो थुप्रिएपछि यातायात अवरुद्ध भएको छ।
बाढीले दोछुखा–जोमलिङथाङ–रित्सा चिउग क्षेत्रमा सञ्चालनमा रहेको सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ। उक्त प्रणाली अहिले बन्छ भएको छ।
त्यस्तै, जोमलिङथाङनजिकै पुनाखा–गासा राजमार्गको एक खण्ड बाढीले बगाएर ल्याएको गेग्रानले पुरिएको छ। यसले प्रभावित क्षेत्रको सडक सम्पर्कमा अवरोध सिर्जना गरेको छ।
भुटानमा हिमताल विस्फोट भएर आएको बाढीले भारतका आसाम र पश्चिम बंगालमा समेत सम्भावित जोखिम बढाएको छ। भुटानबाट भारततर्फ बग्ने संकोश नदीमा पानीको सतह बढ्न सक्ने भन्दै दुवै राज्यका प्रशासनले नदी आसपासका क्षेत्रमा निगरानी बढाएका छन्।
आसामको धुबरी तथा पश्चिम बंगालका दार्जिलिङ, अलिपुरद्वार र जलपाइगुडी क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। जलवायु परिवर्तनका कारण हिमनदी तीव्र गतिमा पग्लिँदै जाँदा हिमताल विस्फोटजन्य बाढीको जोखिम हिमालय क्षेत्रका देशहरूमा बढ्दै गएको छ।
यसअघि सन् २०२१ अगस्ट २६ मा पनि मो छु नदीमा आएको आकस्मिक बाढीले गासा छाछु क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। त्यतिबेला नदीको बहाव परिवर्तन भएर तातोपानी कुण्डतर्फ मोडिएको थियो।
हिमनदी पग्लिएर बनेको तालमा जम्मा भएको पानी प्राकृतिक बाँध फुटेर एकैपटक बाहिर निस्कँदा आउने बाढीलाई हिमताल विस्फोटजन्य बाढी भनिन्छ।
हिमतालमा पानीको मात्रा बढ्नु, हिमपहिरो खस्नु, पहिरो जानु, भूकम्प आउनु वा प्राकृतिक बाँध कमजोर हुनु यसका सम्भावित कारण हुन्।
विशेषगरी जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। यसले हिमतालको आकार र पानीको मात्रा बढाउनुका साथै प्राकृतिक बाँधको स्थायित्वमा समेत जोखिम सिर्जना गरिरहेको छ।
यस्तो बाढी सामान्य बाढीभन्दा फरक र तीव्र गतिमा तलतिर फैलिन सक्छ। यसले नदी किनारका बस्ती, पुल, सडक, जलविद्युत् आयोजना, सिँचाइ प्रणाली र कृषि भूमिमा ठूलो क्षति पुर्याउन सक्छ।
हिमालय क्षेत्रका नेपाल, भुटान र भारतका नदी प्रणाली एकअर्कासँग जोडिएका छन्। त्यसैले भुटानमा आएको यस्तो बाढीले सीमापारिका तल्लो तटीय क्षेत्रमा समेत जोखिम निम्त्याउन सक्छ।


प्रतिक्रिया