काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले सङ्गठनको समग्र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुगेको बताएका छन् ।
काठमाण्डु उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सोमबार आयोजित कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले निर्देशन सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
आईजीपी कार्कीले सीमित साधनस्रोत, भौतिक पूर्वाधारहरूको अभाव एवम् प्रहरी कर्मचारीहरूको मनोबल र क्षमताको विषयलाई लिएर व्यक्त भएका चिन्तन एवम् आकांक्षाका बाबजुद निर्वाचनलाई ऐतिहासिक रूपमा शान्त र व्यवस्थित तवरले सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले उच्च मनोबल, सामूहिक भावना एवम् जिम्मेवारी बोधका साथ प्रदर्शन गरेको उच्च व्यावसायिकता प्रशंसनीय रहेको बताए । प्रतिकुल परिस्थितिका बाबजुद मुलुकप्रतिको समर्पण भावका साथ आफूलाई तोकिएको जिम्मेवारीमा केन्द्रित रहेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति उनले आभार व्यक्त गरे ।
आईजीपी कार्कीले प्रहरीको अथक सक्रियता र क्रियाशीलताको कारणले समाजमा शान्ति सुरक्षा कायम राख्न सम्भव भएको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी इलाकाको विस्तृत जानकारीहरू राखी योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्ने बताए । सबै प्रहरी कर्मचारीहरूले परिवर्तनलाई आत्मसात् गर्न जरुरी रहेको बताउँदै समयानुकूल अझ शिष्ट बोली, वचन र आचरणका साथै जनउत्तरदायी भई नागरिकहरूप्रति पूर्णरूपीमा समर्पित भएर कार्य सम्पादन गर्न उनले निर्देशन दिए ।
आईजीपी कार्कीले प्रहरी पेशा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवम् दृढ अनुशासन आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठनिक लक्ष्यप्रति सदैव केन्द्रित भई सामूहिक भावना एवम् भातृत्वभावका साथ प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा सम्पादन गर्नुपर्ने बताए ।




प्रतिक्रिया