लेबनानमा एक सातामै ८३ बालबालिकाको मृत्यु

लेबनानमा एक सातामै ८३ बालबालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– लेबनानमा बढ्दो सैन्य गतिविधि र हिंसात्मक घटनाका कारण पछिल्लो एक सातामै कम्तीमा ८३ बालबालीको ज्यान गएको छ । बालबालिकाको ज्यान जाने र घाइते हुने घटना तीव्र रूपमा बढेको भन्दै संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन् ।

उनका अनुसार मार्च २ यता लेबनानमा कम्तीमा ८३ जना बालबालिकाको मृत्यु भएको छ भने २५४ जना घाइते भएका छन् । पछिल्लो एक सातामा दैनिक औसतमा १० भन्दा बढी बालबालिकाको ज्यान गएको र करिब ३६ जना बालबालिका घाइते भएको तथ्यांकले देखाएको छ ।

युनिसेफका अनुसार पछिल्ला २८ महिनामा लेबनानमा द्वन्द्वका कारण ३२९ बालबालिकाको मृत्यु भइसकेको छ भने १ हजार ६३२ जना घाइते भएका छन् । पछिल्ला ६ दिनमै बालबालिकाको मृत्यु संख्या २५ प्रतिशतले बढेको भन्दै संस्थाले यसलाई अत्यन्तै भयावह अवस्था भनेको छ ।

“देशभर भइरहेका सैन्य आक्रमणका कारण बालबालिका भयावह दरमा मारिने र घाइते हुने क्रम जारी छ,” बेइगबेन्डरले भने, “परिवारहरू डरका कारण घर छोडेर भाग्न बाध्य छन् र हजारौं बालबालिका चिसो तथा भीडभाडयुक्त आश्रयस्थलमा रात बिताउन बाध्य भएका छन् ।”

युनिसेफका अनुसार द्वन्द्वका कारण लेबनानमा करिब ७ लाख मानिस विस्थापित भएका छन् । जसमा करिब २ लाख बालबालिका रहेका छन् । संस्थाले सबै पक्षलाई नागरिक तथा नागरिक संरचनाको सुरक्षा गर्न आग्रह गरेको छ । विद्यालय, आश्रयस्थल तथा अन्य नागरिक संरचनालाई सुरक्षित राख्न अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि युनिसेफले आह्वान गरेको छ ।

पश्चिम एशियामा इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण क्षेत्रीय द्वन्द्व चर्किँदै गएको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि स्थिति थप तनावपूर्ण बनेको हो ।

त्यसपछि इरानले प्रतिउत्तरस्वरूप विभिन्न अरब देशमा रहेका अमेरिकी सैन्य अड्डा र इजरायली लक्ष्यमा आक्रमण गरेको थियो । इजरायलले पनि इरानमाथि आक्रमण जारी राख्दै द्वन्द्वलाई लेबनानसम्म विस्तार गरेको र हिज्बुल्लाह तथा इरान समर्थित समूहलाई लक्षित गरी सैन्य कारबाही गरिरहेको बताइएको छ । एएनआई