नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अघिल्लो दिन सर्किट ब्रेक लागेर उकालो लागेको सेयर बजारमा मंगलबार सामान्य करेक्सन देखिएको छ ।

नाफा बुक गर्ने लगानीकर्ता र चुनावअघि खरिद गर्ने अवसर गुमाएकाहरूको आक्रामक खरिदारीका कारण बजारमा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन साढे ७ महिनायताकै उच्च हो ।

मंगलबार नेप्से परिसूचक ३२.०८ अंक (१.११ प्रतिशत) घटेर २८४३ अंकमा कायम भएको छ । सोमबार भने बजार ६ प्रतिशत बढ्दै ३ पटक सकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार स्थगित भएको थियो । त्यस दिन जम्मा ५५ करोड रुपैयाँको मात्रै कारोबार भएको थियो ।

मंगलबार ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता शेयर २ लाख ५ हजार ६११ कारोबारबाट किनबेच भएका छन । कारोबारमा आएका कम्पनीमध्ये ७८ को मूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो । कम्पनीको १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो । आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट पनि उच्च कारोबार हुने कम्पनीमा परे ।

यस दिन रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै अपर सर्किट लागेको छ भने थ्रीस्टार हाइड्रोपावर, कालिका पावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य पनि उल्लेख्य बढ्यो ।

यता हिमस्टार ऊर्जाको शेयर मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले घटेको छ । बजार विश्लेषकहरूका अनुसार अघिल्लो दिनको तीव्र वृद्धिपछि आएको यस्तो करेक्सनलाई सामान्य मान्न सकिन्छ ।