काठमाण्डु – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राखेर नेपाल एअरलाइन्सले प्रभावित यात्रुको सहजताका लागि संयुक्त अरब इमिरेट्स (युएई)कोदुबईमा विशेष उडान गर्ने भएको छ ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धबाट प्रभावित भएको नेपालीलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।
निगमका अनुसार काठमाण्डु–दुबई उडान बुधबार राति सवा ११ बजे हुँदैछ भने दुबई–काठमाण्डु उडान बिहीबार स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा गर्ने तालिका छ ।
नेपाल एअरलाइन्सका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर पनि यात्रा गर्न नसकेका यात्रुले रातिको उडानमा यात्रा गर्न चाहेमा आफ्नो टिकट इमेलमार्फत पठाई पुनः प्रमाणीकरण गराउनुपर्नेछ । निगमले प्रमाणीकरण गरेका यात्रुलाई मात्र विमानस्थल जान अनुरोध गरेको छ ।
पश्चिम एशियाको तनाव केही मत्थर भएपछि अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले मंगलबारदेखि काठमाण्डुका लागि आंशिक उडान पुनः शुरू गरेका छन् ।
अमेरिका–इरान युद्ध सुरू भएपछि यात्रु र चालक दलको असुरक्षा भएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेका थिए । जसका कारण धेरै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदै आएका छन् ।




प्रतिक्रिया