काठमाण्डु – प्रतिनिधिसभा सदस्यका लागि बारा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश धिमालले जनताको सचेतताले नै देशमा हरेक परिवर्तन सम्भव हुने बताएका छन् ।
सोमबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न राजनीतिक विश्लेषकहरूले वर्तमान व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने तर्क गर्दै आएको स्मरण गर्दै त्यसलाई जनताले गलत सावित गरेको बताए ।
उनले भने, ‘विभिन्न कालखण्डमा केही विश्लेषकहरूले यो व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन भन्ने कुरा विभिन्न फोरममा राख्दै आएका थिए । तर आज जनताले ती भनाइहरूलाई गलत सावित गरिदिएका छन् । जनता नै जनार्दन हुन् र हरेक परिवर्तनको नेतृत्व जनताले नै गरेका छन् ।’
धिमालले अब बन्ने सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनका अनुसार प्रशासनिक तथा प्रक्रियागत काम सम्पन्न भएपछि चाँडै नै बालेन शाह को नेतृत्वमा सरकार गठन हुने र त्यो जनताको सरकार हुने बताए ।
‘अबको केही समयमा प्रशासनिक र प्रक्रियागत गरिकाले चैत्रको पहिलो हप्ता सकिने वित्तिकै बालेन शाहको नेतृत्वमा सरकार बन्दैछ । त्यो जनताको सरकार हुनेछ । अब केही समय हामीलाई आलोचना होइन, काम गरेको तरिकालाई प्रतिक्रियात्मक होइन, सहजीकरण गरिदिन आह्वान गर्छु । सही सल्लाह सुझाव लिन्छौं तर पार्टीको आवरणमा हामीलाई प्रश्न नगरिदिनुहोला,’ उनले भने ।
उनले केही समय सरकारलाई काम गर्न दिन आग्रह गर्दै आलोचनाभन्दा सहजीकरण र रचनात्मक सुझाव दिन आग्रह गरेका छन् ।
धिमालले नयाँ सरकार गठनसँगै ग्यासको मूल्यवृद्धि वा अभाव हुने भन्ने विषयमा मिडियामा आएका समाचारहरू अतिरञ्जित भएको दाबी गरे । उनले इमान्दारितापूर्वक काम गर्न अवसर दिन आग्रह गर्दै देश निर्माणका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।
उनले छोटो र प्रभावकारी मन्त्रिमण्डल गठन हुने र आवश्यकताअनुसार नीतिगत सुधार तथा संशोधन गरिने पनि जानकारी दिए ।




प्रतिक्रिया