गगनको राजीनामा पत्रमा के छ ? कांग्रेसले अब के गर्छ ?

गगनको राजीनामा पत्रमा के छ ? कांग्रेसले अब के गर्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाले कांग्रेस सभापति पदबाट अकस्मात राजीनामा दिएपछि पार्टी भित्र तरंग उत्पन्न भएको छ भने राष्ट्रिय राजनीति पनि तातेको छ ।

२१ फागुनमा भएको निर्वाचनमा लज्जास्पद हारको सबै जिम्मेबारी लिँदै कांग्रेस सभापति थापाले पदबाट अचानक राजीनामा दिएपछि सर्वत्र चासोको विषय बनेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नु एकदिन अघि आएको राजीनामा पछि कांग्रेस भित्र के हुने र अबको प्रक्रिया कस्तो हुनेबारे पनि चासो बढेको छ ।

थापाले समानुपातिकतर्फ कांग्रेसका निर्वाचित सदस्यहरूको नाम निर्वाचन आयोगमा पठाउने कार्य सकिएलगत्तै राजीनामा दिएका हुन् ।

थापाले केही दिन अघि नै राजीनामा दिने संकेत गरेका थिए । तर उपसभापति विश्वप्रकाश शर्माको आग्रहमा उनी रोकिएका थिए ।त्यसको हप्ता दिन नबित्दै थापाले राजीनामा दिएका हुन् । यद्यपी उनको राजीनामा पत्र गोप्य रहेको छ । तर उनले राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् ।

बुधबार राति उपपसभापति विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले भनेका छन्, ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो ।’

उनले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको स्पष्ट पार्दै भनेका छन्, ‘आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको हुँ ।’

पत्रमा उनले अगाडि भनेका छन्, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसँग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।’

पत्रमा थापाले प्रतिनिधि सभा निर्वाचनको क्रममा ‘बदलिएको कांग्रेस’को प्रचारका लागि समय पर्याप्त नभएको तर्क गर्दै विशेष महाधिवेशनपछि पार्टी सभापतिको जिम्मेवारी सम्हाल्दै अत्यन्त छोटो समयमा निर्वाचनमा पार्टीको नेतृत्व गर्नु अवसर र चुनौती दुवै भएको उल्लेख गरेका छन् ।

विशेष महाधिवेशनले केवल नेतृत्व परिवर्तन मात्रै नगरेको उल्लेख गर्दै सभापति थापाले पार्टीभित्र बहुआयामिक सुधार र आत्मसमीक्षाको सुरुवात पनि गरेको राजीनामा पत्रमा लेखेका छन् । ‘पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पु¥याउन पर्याप्त समय प्राप्त हुन सकेन ।

यसपटकको परिणामका प्रमुख कारणहरूमध्ये समयको यो सीमितता मुख्य कारण रहेको मेरो बुझाइ छ,’ सभापति थापाले राजीनामा पत्रमा लेखेका छन् ।

निर्वाचन परिणाम बारे चर्चा गर्दै थापाले यदि विशेष महाधिवेशन सम्पन्न नभइ निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति कांग्रेसका लागि झनै प्रतिकूल परिणाम प्राप्त हुने दाबी गरेका छन् । थापाले लेखेका छन्, ‘तथापी यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो । वर्तमान परिणामप्रतिको जवाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु ।’

अबको प्रक्रिया के ?

थापा पुस २७ देखि माघसम्म भएको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्दै थापा नेतृत्वमा १ सय ३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

सभापति भएको भोलिपल्ट निर्वाचन आयोगले थापा सभापति भएको नेतृत्वलाई मान्यता दिएको थियो ।

त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ । तर विशेष महाधिवेशनको आयोजनामाथि नै असहमत नेताहरू नै नवनिर्वाचित सभापति थापाकै हस्ताक्षरमा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

कांग्रेस नेताहरूका अनुसार शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको राजीनामाबारे औपचारिक रूपमा छलफल हुनेछ ।

एक पदाधिकारीका अनुसार सभापतिको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार केन्द्रीय कार्यसमिति बैठकको हो । बैठकले राजीनामा स्वीकृत गर्न नसक्ने पनि उनले संकेत गरे ।

कांग्रेसले ‘अबकि बार, सय पार’ भन्ने नारासहित निर्वाचनमा होमिएको थियो । तर प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भयो । संसद्मा कांग्रेस दोस्रो स्थान प्राप्त गरेको छ ।

सभापति थापा आफैं सर्लाही–४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए ।

राजीनामा नदिन केन्द्रीय कार्यसमिति र बाहिरबाट समेत चौतर्फी दबाब परे पनि सभापति थापाले नमानेपछि शर्माले राजीनामा बुझेर केन्द्रीय कार्यसमिति बैठकमा छलफलको विषय बनाउन तयारी गरेका छन् ।

निर्वाचनपछि पहिलोपल्ट बस्न लागेको बैठकमा निर्वाचनको परिणाम, नेतृत्वको जिम्मेवारी र संगठनात्मक कमीकमजोरी लगायतका विषयमा समीक्षा हुनेछ ।

कांग्रेस विधानअनुसार केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

केन्द्रीय कार्यसमितिले उक्त राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने पार्टी विधानमा उल्लेख छ ।

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरिसको छ ।