भोलि र पर्सि हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना, यस्तो छ सरकारी सूचना !

भोलि र पर्सि हावाहुरी, भारी वर्षा र हिमपातको सम्भावना, यस्तो छ सरकारी सूचना !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी २ दिन देशका विभिन्न भागमा भारी वर्षा, हिमपात र प्रतिघण्टा ११९ किलोमिटरसम्मको तीव्र हावाहुरी चल्ने सम्भावना देखिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विशेष बुलेटिन जारी गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सरकारी सूचनाअनुसार चैत ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका १–२ स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । शुक्रबारदेखि नै लुम्बिनी प्रदेशको दाङ र नेपालगञ्जसहित तराईका आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्नेछ ।

पर्सि शनिबार हावाहुरीको प्रभाव पूर्वतर्फ सर्नेछ । विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा झण्डै ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ ।

प्रिमनसुनको समय भएकाले तीव्र हावाहुरीले रुख ढाल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत् तथा सञ्चार सेवा अवरुद्ध गर्ने जोखिम रहेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए । पछिल्ला दिनहरूमा हावाहुरीका कारण मानवीय क्षति समेत भइरहेकाले प्राधिकरणले विशेष काम नपरी यात्रामा ननिस्किन र सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्न र आगोका स्रोतहरू ग्यास, चुलो निभाउन आग्रह गरेको छ ।

बिजुलीका लत्रिएका तार नछुन, हावाहुरीको समयमा विद्युतीय उपकरण नचलाउन र टेलिफोन वा बिजुलीको खम्बामुनि ओत नलाग्न, भीडभाड भएको ठाउँमा हावाहुरी चलेमा नआत्तिन र भागदौड नगरी बिस्तारै सुरक्षित स्थानतर्फ जान सुझाव दिइएको छ ।

प्राधिकरणले मौसम सम्बन्धी नियमित अपडेटमा रहन र जोखिमयुक्त स्थान अग्ला रुख, कमजोर पर्खालबाट टाढै रहन सबैमा अपिल गरेको छ ।