बाघको छाला तस्करीमा दोषी ठहर भई कारागारबाट फरार गुरुङ पुन: पक्राउ

बाघको छाला तस्करीमा दोषी ठहर भई कारागारबाट फरार गुरुङ पुन: पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका १ कैदीलाई प्रहरीले ७ महिनापछि पुन: पक्राउ गरेको छ ।

अवैध रूपमा बाघको छाला बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा १५ वर्ष कैद सजाय भुक्तान गरिरहेका विष्णुबहादुर गुरुङलाई प्रहरीले काठमाण्डुको कलंकीबाट नियन्त्रणमा लिएको हो ।

तनहुँको देवघाट गाउँपालिका–१ घर भएका ५६ वर्षीय गुरुङलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले २०६५ जेठ ९ गते बाघको छाला तस्करीको मुद्दामा दोषी ठहर गरेको थियो । निकुञ्जको फैसलाअनुसार उनलाई १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनी सोही सजाय भुक्तानका लागि जगन्नाथदेवल कारागारमा रहेका थिए ।

देशभर भएको जेनजी आन्दोलनको उत्कर्षका बेला २०८२ भदौ २४ गते कारागारमा भएको तोडफोड वा सुरक्षा कमजोरीको फाइदा उठाउँदै गुरुङ फरार भएका थिए । त्यसयता उनी प्रहरीको आँखा छलेर विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

फरार कैदीको खोजतलासका लागि खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा चैत ४ गते उनलाई काठमाण्डु महानगरपालिका–१४ कलंकीबाट पक्राउ गरेको छ । पक्राउ परेलगत्तै उनलाई सोही दिन बाँकी कैद सजाय भुक्तानका लागि पुन: केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल पठाइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।