काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ ।
सबै निर्वाचित सांसदहरूको सहमतिमै संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित गर्ने पार्टीले जनाएको छ ।
पार्टीका शीर्ष नेताहरूको छलफलमा संसदीय दलको नेता छान्न निर्वाचन नगर्ने र सहमतिमा बनाउने निर्णय गरेको हो ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने सहमति भएको हो । उक्त सहमति अनुमोदनका लागि चैत १२ गते केन्द्रीय समिति बैठक बस्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीले चुनावअघि नै शाहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको थियो ।
बिहीबार सभापति रवि लामिछाने र शाहसहितका चार नेताबीच भएको छलफलमा सात बुँदे पूर्वसहमति अनुसार बालेनलाई संसदीय दलको नेता बनाउने पुनः सहमति गरेको हो ।
सर्वसम्मत सहमति भइसकेकाले संसदीय दलको नेता बनाउन विधान संशोधन आवश्यक नपर्ने पनि महामन्त्री बुर्लाकोटीले बताए । प्रधानमन्त्रीको शपथ प्रस्ताव चैत १३ गतेका लागि गरिएको छ ।




प्रतिक्रिया