काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गरेकी छन्।
शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेकी हुन्।
त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गरेका थिए। मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो।
पूजाआराधनापछि प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिएकी थिइन्।
पूजापछि सञ्चारकर्मीसँग उनले जनकपुरधाममा आफ्नो विशुद्ध धार्मिक यात्रा भएको बताइन्।
प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताइन्। उनले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरिन्।
उनले अन्तरिम सरकार जनताको अपेक्षा अनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाइन्।




प्रतिक्रिया