काठमाण्डु – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कलाकार राजकुमार विकको एकल चित्रकला प्रदर्शनी ‘सह–अस्तित्व’ सुरु भएको छ ।
शनिबार अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको ६१औँ अवसर पारेर आयोजित प्रदर्शनी प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
प्रदर्शनीको उद्घाटन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसाल र प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संयुक्त रूपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै भुसालले कला केवल रङ र आकृतिमा सीमित नभई मानवीय आवाज र संवेदनाको अभिव्यक्ति भएको बताए । उनले सामाजिक विषयसँग जोडिएको यस्ता प्रदर्शनीले समाजलाई सकारात्मक सन्देश दिने उल्लेख गरे ।
कुलपति हार्तम्छालीले कलाकार विकका कृतिहरूले समाजमा विद्यमान छुवाछुत र विभेदविरुद्ध सशक्त सन्देश दिने बताएका छन् । उनका अनुसार विकले आफ्ना चित्रमार्फत सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि कलात्मक विद्रोहको स्वर प्रस्तुत गरेका छन् ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मौलिक कला, शिल्प र सिपको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै विकका कृतिमा प्रकृति, संस्कृति र समाजको जीवन्त चित्रण भएको बताए ।
शिल्प–हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले यस प्रकारको कार्यक्रमले समाजमा सहअस्तित्व र समानताको सन्देश प्रवाह गर्ने धारणा राखिन् । लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
पूर्व सचिव मानबहादुर विकले देशभर छरिएका प्रतिभाहरूलाई मूलधारमा ल्याउने प्रयास प्रशंसनीय भएको बताए ।
कलाकार राजकुमार विकले आफ्ना कृतिमा शोषित तथा उत्पीडित समुदायका कथा, अनुभूति र श्रमचेतनालाई क्यानभासमा जीवन्त बनाउँदै सामाजिक जागरण र सचेतनालाई सशक्त बनाउने प्रयास गरेको बताए ।
चैत १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ३५ वटा कलाकृति राखिएका छन् । कार्यक्रममा विभिन्न कलाकार, प्राज्ञ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो ।




प्रतिक्रिया