इरानसँगको युद्धमा अमेरिकालाई सवा खर्ब रुपैयाँ बराबर क्षति

इरानसँगको युद्धमा अमेरिकालाई सवा खर्ब रुपैयाँ बराबर क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपूर्वमा अमेरिकाले प्रयोग गर्दै आएका सैन्य अखडाहरूमा इरानले गरेका आक्रमणहरूका कारण युद्धको पहिलो दुई सातामा अमेरिकालाई करिब ८० करोड डलर झन्डै सवा खर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

अमेरिकाको सेन्टर फर स्ट्राटजिक एन्ड इन्टर्न्याश्नल स्टडिज (सीएसआईएस)ले जारी गरेको एक प्रतिवेदनमा अमेरिका र इजरायलको आक्रमण पछि इरानको प्रत्याक्रमणमा सबभन्दा धेरै क्षति भएको हो ।

सीएसआईएसको प्रतिवेदनलाई बीबीसीले पनि विश्लेषण गरेको छ । प्रतिवेदन र विश्लेषणअनुसार इरानी प्रहारबाट अमेरिकालाई भएका क्षतिका पूर्ण विवरण अझै प्रस्ट भइसकेको छैन।

तर अमेरिकी सैन्य संरचनाहरूमा ८० करोड डलर बराबरको क्षति पुगेका अनुमान गरिएको छ । युद्ध जारी रहँदा अमेरिकालाई थप क्षति हुने र युद्धको मूल्य चर्को पर्दै जाने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

सीएसआईएसका वरिष्ठ सल्लाहकार तथा प्रतिवेदनका एक सह-लेखक मार्क कान्किआनले भने, ‘क्षति निकै भएको देखिन्छ तर त्यसको पूर्ण आँकडा थप सूचना नभइकन थाहा हुन सक्दैन।’

यसबारे प्रतिक्रिया माग गर्दा अमेरिकी रक्षा मन्त्रालयले युद्धको अगुवाइ गर्दै आएको यूएस सेन्ट्रल कमान्डलाई सोध्न भनेको छ ।

तर सेन्टकमका अधिकारीहरूले चाहिँ प्रतिक्रिया दिन अस्वीकार गरे। इरानको प्रतिकारात्मक कारबाहीहरूले अमेरिकी हवाई प्रतिरक्षा तथा भूउपग्रह–सञ्चार प्रणालीहरूलाई निसानामा पारेको थियो। ती प्रणाली जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई) र अन्य मध्यपूर्वी देशहरूमा थिए।

क्षतिको ठूलो अंश जोर्डनमा अवस्थित हवाई अखडामा रहेको थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको रेडारमा भएको प्रहारले भएको छ ।

सीएसआईएसद्वारा गरिएको रक्षा मन्त्रालयको बजेट दस्तावेज विश्लेषण अनुसार उक्त एएनरटिपीवाई–२ रेडार प्रणालीको लागत करिब ४८ करोड ५० लाख डलर पर्छ। लामा दूरीका बलिस्टिक क्षेप्यास्त्र रोक्न यस्ता हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरिन्छन्।

इरानी हमलाले सो क्षेत्रमा रहेका अमेरिकी अखडा तथा अमेरिकी सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवनहरू तथा अन्य संरचनाहरूमा ३१ करोड डलर बराबरको पनि क्षति पुगेको छ ।

बीबीसी भेरिभाईले भूउपग्रहबाट प्राप्त तस्बिरहरूको विश्लेषण गर्दा कम्तीमा तीनवटा हवाई सैन्य अखडामा इरानले एकपटकभन्दा धेरै हमला गरेको देखिएको छ।

यसरी पटकपटक हमला गरिनु भनेको निश्चित् अमेरिकी अखडालाई निसानामा पार्ने इरानको कोसिस हो। सो क्षेत्रमा रहेका अमेरिकी सैन्य फौजबारे रुसले तेहरानलाई खुफिया जानकारी दिएको विवरण पनि आएका छन्।

भूउपग्रहबाट लिइएका तस्बिरहरूले तीनवटा हवाई सैन्य अखडा–कुवेतस्थित अलि अल–सलिम, कतारस्थित अल–उदैद र साउदी अरेबियास्थित प्रीन्स सुल्तानमा व्यापक क्षति पुगेको देखाउँछ।

कुवेतस्थित अमेरिकी सैन्य केन्द्र क्याम्प अरिफ्जान र अमेरिकी विमान राखिएका साउदी अरेबियास्थित प्रीन्स सुल्तान हवाई सैन्य अखडामा रहेका रेडार स्थलहरूमा प्रहार भएका छन्।

प्रीन्स सुल्तान हवाई सैन्य अखडा क्षेत्रमा थाड हवाई प्रतिरक्षा प्रणालीको रेडार सामग्रीबाट धुवाँ उडिरहेको तस्बिरमा देखिन्छ।

फेब्रुअरी २८ मा इरानविरुद्ध इजरायली हमलामा राष्ट्रपति ट्रम्पले अमेरिकालाई जोडेपछि भएका घटनाहरूमा १३ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ।

अमेरिकास्थिति ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए)का अनुसार १४ सय गैरसैनिकसहित हालसम्म युद्धमा ३२ सयको मृत्यु भइसकेको छ।

इरानको परमाणु कार्यक्रम नष्ट गर्ने, उसको परम्परागत सैन्य क्षमता निस्तेज बनाइदिने र इरानी सत्ताले सो क्षेत्रमा उपयोग गर्दै आएका समूहहरूलाई दिँदै आएको समर्थनको अन्त्य गर्ने आफ्ना लक्ष्यहरू हासिल गर्नेतर्फ अमेरिका रणनीति रहेको छ ।

तर युद्धका कारण स्ट्रेट अफ होर्मुज जलमार्गमा भएको अवरोध, युद्ध कति लम्बिएला भन्ने र कतै अमेरिकी रायट्रपति डोनाल्ड ट्रम्पले स्थल सेना पनि परिचालन गर्छन् कि भन्ने अनिश्चयले गर्दा विश्व अर्थतन्त्र खलबलिएको छ।

यूएई र जोर्डनमा रहेका थाड प्रणालीमा अझ थप क्षति पुगेका देखिन्छन्। ती क्षति कति मूल्य बराबर भए भनेर प्रस्ट भएको छैन।

यी प्रणाली क्षतिग्रस्त भएपछि अमेरिकाले दक्षिण कोरियामा परिचालित थाड प्रणालीका सामग्रीलाई मध्यपूर्वमा सार्नु परेको छ ।

तर इरानी हमलाले पुगेको क्षतिको मूल्य अमेरिकाले यस युद्धका निम्ति गरेको कुल खर्चको निकै सानो अंश हो।

रक्षा मन्त्रालयका अधिकारीहरूले कङ्ग्रेस सदस्यहरूलाई दिएको भनिएका जानकारीअनुसार युद्धको पहिलो ६ दिनमै ११.३ अर्ब डलर झन्डै १७ खर्ब रुपैयाँ० खर्च भएको छ।

पहिलो १२ दिनमा त्यो खर्च साढे १६ अर्ब डलर झन्डै २५ खर्ब रुपैयाँ पुगेको सीएसआईएसले जनाएको छ।

पेन्टागनले युद्धका निम्ति थप २०० अर्ब डलर बजेट माग गरेको छ। रक्षा मन्त्री पिट हेग्सेथले त्यो अङ्क परिवर्तन हुन सक्ने जनाएका छन्।