काठमाण्डु – पाकिस्तानको ८६औँ राष्ट्रिय दिवसको पावन अवसरमा सोमबार काठमाण्डुस्थित पाकिस्तानी दूतावासमा विशेष झण्डोत्तोलन समारोह आयोजना गरिएको छ ।
नेपालका लागि पाकिस्तनी राजदूत अबरार एच हाश्मीले दूतावास भवनमा पाकिस्तानको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरे ।
सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले पठाएको शुभकामना सन्देशहरू वाचन गरिएको थियो ।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा राष्ट्रिय संकल्पलाई वास्तविकतामा बदल्न एकता र ऐक्यवद्धता सबैभन्दा महत्त्वपूर्ण तत्व भएको उल्लेख गरे । उनले पाकिस्तान दिवसको अवसरमा विधिको शासन सुनिश्चित गर्ने, लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने, असमानता हटाउने, महिला सशक्तीकरण गर्ने र आतंकवाद एवं कट्टरपन्थीलाई निर्मूल पार्ने संकल्प दोहोर्याए ।

प्रधानमन्त्री शरीफले २३ मार्चलाई दक्षिण एसियाको इतिहासकै एक महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा चित्रण गरे । उनले पाकिस्तान विश्वशान्तिको पक्षधर रहेको बताउँदै दक्षिण एसियाको दिगो शान्ति जम्मू–कश्मीर मुद्दाको न्यायोचित समाधानसँग जोडिएको उल्लेख गरे । उनले प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै मध्यपूर्वमा जारी हालैको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
उपप्रधानमन्त्री डारले स्वतन्त्र पाकिस्तान निर्माणका लागि पूर्खाहरूले गरेको अथक संघर्ष र त्यागको स्मरण गरे । क्षेत्रीय तनावका कारण परेको आर्थिक र राजनीतिक प्रभावलाई मध्यनजर गर्दै सरकारले फजुल खर्च कटौतीका कदमहरू चालेको उनले जानकारी दिए ।
राजदूत हाश्मीले नेपालमा रहेका पाकिस्तानी समुदाय र उनीहरूका परिवारलाई बधाई दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई मजबुत बनाउन उनीहरूले खेलेको भूमिकाको प्रशंसा गरे । उनले सन् १९४० मार्च २३ को ऐतिहासिक महत्त्व र कायद–ए–आजम मुहम्मद अली जिन्नाको नेतृत्वप्रति श्रद्धाञ्जली अर्पण गरे ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण निर्दोष मानिसहरूले ज्यान गुमाउनुपरेको र पीडा भोग्नुपरेकोमा ऐक्यबद्धता प्रकट गर्दै राजदूत हाश्मीले प्रधानमन्त्रीको निर्देशनबमोजिम यस वर्ष पाकिस्तान राष्ट्रिय दिवस स्वागत समारोह आयोजना नगरिने घोषणा गरेका छन् ।




प्रतिक्रिया