काठमाण्डु – महिला उद्यमशीलता प्रवर्द्धन तथा सशक्तीकरणलाई लक्षित गर्दै महिला उद्यमी महासंघ नेपालले नवौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ ।
महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २०–२२ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
यस वर्षको मेलाले देशभरका घरेलु, साना तथा मझौला महिला उद्यमी, व्यवसायी तथा निर्यातकर्तासहित विभिन्न देशका महिला उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने लक्ष्य राखेको छ ।
महासंघका अनुसार मेलाको मुख्य उद्देश्य महिला उद्यमीहरूका उत्पादन तथा सेवाको प्रदर्शन, प्रवर्द्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्ने, नेटवर्किङ तथा व्यापारिक सहकार्य बढाउने र ज्ञान–सीप आदानप्रदानलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
महिला उद्यमशीलता, आर्थिक सशक्तिकरण र दीगो व्यापारिक अवसर सिर्जनामा योगदान पुर्याउने उद्देश्यसहित आयोजना हुन लागेको मेलामा नेपालका विभिन्न जिल्लाका महिला उद्यमीका साथै अन्तर्राष्ट्रिय सहभागिता पनि रहने अपेक्षा गरिएको छ ।
महासंघले २३ वर्षदेखि नेपालभर महिला उद्यमशीलताको विकास, प्रवर्द्धन र सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
हाल ७७ वटै जिल्लामा महिला उद्यमी संघ विस्तार गर्दै ६ हजारभन्दा बढी महिला उद्यमीलाई सदस्यतामा आबद्ध गरिसकेको र करीब १ लाखभन्दा बढी अप्रत्यक्ष लाभग्राही रहेको जनाएको छ ।




प्रतिक्रिया