काठमाण्डु – माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा छन् ।
समूह एमा रहेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको नेपालले तीन अंक जोडेको छ । नेपालले यसअघि उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो ।
श्रीलंका सोही समूहको शीर्ष स्थानमा छ । एक खेल खेल्दा श्रीलंकाले पनि जित हासिल गर्दै समान तीन अंक जोडेको छ ।
श्रीलंकाले यसअघि सम्पन्न पहिलो खेलमा घरेलु टोलीलाई ३–२ ले निराश बनाएको थियो । यी दुईबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा साँझ ६ बजे हुने तालिका छ ।
प्रतियोगिताअन्तर्गत बुधबार नै हुने दोस्रो खेलमा समूह एकै भुटान र माल्दिभ्स जितको खाता खोल्ने लक्ष्यसहित भिड्दै छन् ।
पहिलो खेलमा हार व्यहोरेका यी दुवै तालिकाको पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । माल्दिभ्सले यसअघि श्रीलंकासँग ३–२ को हार व्यहोर्दा भुटानले नेपालसँग २–१ को हार व्यहोरेको थियो । खेल राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ९ : ४५ बजे हुनेछ ।




प्रतिक्रिया