काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको बताएकी छिन् ।
बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनले बहुमत ल्याउन सक्दैन भन्ने भाष्य गलत साबित भएको बताएकी हुन् ।
युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षा बमोजिम सुशासन,रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य,आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको उनले बताइन्।
कार्कीले उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा डर र अनिश्चयबीच सत्ता सम्हालेको बताइन् । उनले भनिन् ‘हामी फेरि उठ्नेछौं भन्दै एक जुट हुन सबैलाई आह्वान गर्दछु । भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो । तर देश संकटमा रहँदा आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ ।’
यस्तै उनले जेनजी आन्दोलमा ज्यानको आहुनी दिने सम्पूर्ण सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छिन् उनले भनिन् ‘आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ । म सम्झिरहेको छु । ती कलिला बालबालिका जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्यो, ती ऊर्जावान किशोर किशोरी जसले आजीवन अपंगता व्यहोर्नुपर्यो, जसले परिवार जसले सपना र साहरा गुमाउनुपर्यो । सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुनी दिने सम्पूर्ण सहिदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना,’ उनले भनेकी छन्, ‘साहरा गुमाउनु भएका परिवारलाई भन्न चाहन्छु – तपाईंहरू एक्लो हुनुहुन्न । तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसायिक प्रतिष्ठान र निजी सम्पतीमा पनि क्षति पुगेकोमा गहिरो दुस्ख व्यक्त गर्दछु ।’
कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताउँदै आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताइन् ।
उनले भनिन्, ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’




प्रतिक्रिया