काठमाण्डु– गत भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले क्षेत्राधिकार नाघेर पत्रकारिताका सम्बन्धमा प्रतिवेदनमा उल्लेख गरेका कतिपय प्रावधानहरूप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार महासङ्घका महासचिव रामप्रसाद पाण्डेयले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार र सञ्चारमाध्यमका सम्बन्धमा प्रतिवेदनमा स्वतन्त्र प्रेसको मर्म विपरीत हचुवाका भरमा उल्लेख गरिएका कतिपय प्रावधान आपत्तिजनक रहेको बताए ।
‘पत्रकार हुन कम्तीमा स्नातक हुनुपर्ने, १५ वर्षसम्म संवाददाता, स्तम्भकार, अन्तर्वार्ताकार, सहायक सम्पादक भई काम गरेको हुनुपर्ने जस्ता हास्यास्पद सुझाव दिने चेष्टा गर्नु लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्र पत्रकारिताको मूल्य, मान्यता र मर्मविपरीत हो’ महासंघले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘आयोगले संविधान र विद्यमान कानुनी प्रावधानविपरीत पत्रकार र सञ्चारमाध्यमलगायतका क्षेत्रमा गरेको टिप्पणीमाथि महासंघ असहमति प्रकट गर्दछ।’
प्रतिशोधको भावनाबाट प्रेरित प्रतिवेदनले भोलिको राज्य संयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको महासङ्घको बुझाइ छ ।
‘समग्रमा प्रतिशोधको भावनाबाट प्रेरित यो प्रतिवेदनले भोलिको राज्यसंयन्त्रलाई निर्देशित गर्न खोजेको झल्को दिएको छ। नेपाली पत्रकारहरू लोकतन्त्रप्रतिको अविचलित आस्थामा निष्ठावान् छन् भन्ने विषयमा राज्यका सबै निकायलाई महासंघ सचेत गराउँदछ’विज्ञप्तिमा उल्लेख छ।





प्रतिक्रिया