काठमाण्डु – काभ्रेको रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गमा बनाइएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण काठमाण्डुबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
अविरल वर्षासँगै आएको बाढीका कारण रोशी गाउँपालिका–७ घुमाउने डाँडा, वडा नम्बर ९ विरुवाडाँडा, वडा नम्बर ११ काल ढुङ्गा तथा नमो बुद्ध नगरपालिका–६ चोक डाँडामा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पुर्याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।
नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले ड्राइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
यसैबिच, रामेछाप निर्वाचन क्षेत्र खको मुख्य प्रवेशद्वार मानिने नेपालथोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी ड्राइभर्सनसमेत बगाएको छ। उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीका कारण यात्रु तथा सवारी साधन अलपत्र परेका छन् भने स्थानीय वासीलाई आवतजावतमा ठुलो कठिनाइ भएको छ ।
सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।
रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ ।
काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।
बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा गए राति नै उद्धार गरेको छ ।




प्रतिक्रिया