ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलन गर्ने

ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बिना कारण पक्राउ गरेको विरोधमा एमालेले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले ओलीको तत्काल रिहा गर्नुपर्ने माग गर्दै विरोध कार्यक्रम तय गरेको छ ।

ओलीको पक्राउलाई लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त रूपमा प्रतिवाद गर्ने बैठकले निर्णय गरेको छ । बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्णयअनुसार शनिबार दिउँसो ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन गर्ने तय गरिएको छ ।

त्यस्तै, चैत्र १५ गते आइतबार सबै जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइनेछ ।

एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्ने पनि जनाएको छ । पार्टीले वर्तमान घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै आन्दोलनलाई चरणबद्ध रूपमा अघि बढाउने संकेत गरेको छ ।