काठमाण्डु – तिब्ब्तको निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।
केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट सरकार प्रमुख छरिङले प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् ।
सन्देशमा सिक्योङले नेपालमा हालै सम्पन्न जेन जी नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शाहको उदय नेपाली जनताको विशेषगरी युवा पुस्ताको आकांक्षाको शक्तिशाली प्रतीकका रूपमा उभिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहलाई पठाइएको पत्रमा लेखेकिएको छ, ‘नेपाल र तिब्बतबीच पुस्तौँदेखि गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध छन् । तिब्बतको जबरजस्ती अधिग्रहणपछि शरण लिएर नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक तथा आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्, जसले यी सम्बन्धहरूलाई अझ मजबुत बनाएको छ । यो सबै नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो, जसका लागि हामी गहिरो कृतज्ञता व्यक्त गर्दछौँ ।’
उनले अगाडि भनेका छन् ‘नेपालको इतिहासको यस महत्वपूर्ण घडीमा तपाईंको नेतृत्वमा सफलता हासिल होस् भन्ने कामना गर्दछु । तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मित्रता अझ सुदृढ हुँदै जानेछ भन्ने अपेक्षा राख्दै नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने आशा व्यक्त गर्दछौँ ।’
छेरिङ चीनमा प्रतिबन्धित छन् । उनी हाल भारतको धर्मशालामा निर्वासित छन् । निर्वाचित तिब्बति सरकारले नेपालको नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाइ दिएको यो पहिलोपटक हो । यसअघि तिब्बतका निर्वासित नेता दलाइ लामाले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ दिएका थिए ।




प्रतिक्रिया