काठमाण्डु – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरूका लागि छुट्याएको शेयर बाँडफाँटका क्रममा अनियमितता गरेको देखिएपछि अर्याल अनुसन्धानको घेरामा परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार नियमनकारी निकायले माग गरेको विवरण र कागजात पेश गर्दा कम्पनीले फरक–फरक निकायमा फरक–फरक विवरण बुझाएको पाइएको थियो ।
शेयर आवेदनका सक्कल फाराम र तिनका प्रतिलिपिहरूमा देखिएको भिन्नताका आधारमा अर्यालले धितोपत्र सम्बन्धी ऐनको दफा १०० विपरीतको कसुर गरेको सीआईबीले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिका–५ घर भई हाल काठमाण्डुको वनस्थली बस्ने ५१ वर्षीय अर्याललाई काठमाण्डु जिल्ला अदालतबाट पक्राउ अनुमति लिई पुतलीसडकस्थित न्युप्लाजाबाट नियन्त्रणमा लिइएको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार अर्यालमाथि अहिले थप कानुनी अनुसन्धान भइरहेको छ । शेयर बाँडफाँटमा भएको बदमासीले पुँजी बजारको पारदर्शिता र लगानीकर्ताको विश्वासमा पर्न सक्ने असरबारे पनि प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको छ ।




प्रतिक्रिया