काठमाण्डु – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ ।
विभागको अनुगमन तथा निरीक्षण शाखामा कार्यरत चौधरीले एक उद्योग नवीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी दु:ख हैरानी दिएको उजुरी अख्तियारमा परेको थियो ।
उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको विशेष टोलीले आईतबार उनलाई नियन्त्रणमा लिएको छ ।
चौधरीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा विभागकै परिसरबाट समातिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । प्रहरीले उनको साथबाट घुस बापतको रकम र २ थान मोबाइल समेत बरामद गरेको छ ।
पक्राउ परेका प्राविधिक सहायक चौधरीमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सरकारी कार्यालयमा सेवाग्राहीलाई कामको बहानामा अल्झाएर घुस माग्ने प्रवृत्तिविरुद्ध अख्तियारले सक्रियता बढाएको छ ।




प्रतिक्रिया