काठमाण्डु – नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा (एमाले)लाई सडकमा अराजकता र विध्वंस नगर्न अपिल गरेकी छन्।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइका लागि भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेकी हुन्।
देशले भदौ २३ र २४ गते निकै विध्वंस देखिसकेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था दोहोरिन नहुने बताएकी छन्। ‘यदि तपाईंहरूलाई यो प्रक्रिया प्रतिशोध जस्तो लागेको छ भने कानुनी बाटो रोज्नुहोस्, कानुनी लडाइँ लड्नुहोस्। लोकतन्त्रमा सत्य प्रमाणित गर्ने ठाउँ अदालत र प्रक्रिया हो,’ उनले लेखेकी छन्।
संयोजक बमले सरकारसँग असहमति राख्न पाउनु अधिकार भए पनि थप अराजकता र द्वन्द्वले देशलाई कमजोर बनाउने बताएकी हुन् ।
बाटो हिँड्ने सर्वसाधारणमाथि आक्रमण गर्ने, सडक अवरोध गर्ने र सवारी साधन जलाउने जस्ता गतिविधिले एमालेको नैतिक आधार कमजोर बनाउने उनको तर्क छ।
उनले एमालेलाई जिम्मेवार, उत्तरदायी र लोकतान्त्रिक चरित्र देखाउन आग्रह गर्दै यस्ता गतिविधि नगरिदिन अनुरोध गरेकी छन्।




प्रतिक्रिया