के हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ ?

के हामी तेस्रो विश्वयुद्धतर्फ उन्मुख छौँ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इरानसँग अमेरिका–इजरायलको युद्ध सुरु भएको एक महिना पूरा भइसकेको छ, र अहिले मध्यपूर्वको वर्तमान संकट अझ व्यापक रूप लिन सक्ने चिन्ता बढ्दै गएको छ ।

यस युद्धले केवल इरानलाई मात्र प्रभावित गरेको छैन, बरु दर्जनौँ देशहरूलाई पनि आफ्नो प्रभावमा लिएको छ ।

जस्तै यूएई, इराक, बहराइन, कुवेत, साउदी अरेबिया, ओमान, अजरबैजान, कब्जामा रहेको वेस्ट बैंक, साइप्रस, सिरिया, कतार र लेबनान युद्धको सर्वाधिक चपेटामा परेको देश हो ।

धेरै मानिसहरूलाई अहिलेको संघर्ष क्षेत्रीय युद्धभन्दा अगाडि बढेर विश्वयुद्धमा रूपान्तरण हुने कि भन्ने चिन्ता छ ।

बेलायतको अक्फोर्ड विश्वविद्यायमा अन्तर्राष्ट्रिय इतिहासकी प्राध्यापक मार्गरेट म्याकमिलन ले भन्छिन्,‘सामान्य मानिसहरूले प्रायः युद्धहरू धेरै योजनाबद्ध रूपमा हुन्छन् ठानछन् र युद्धमा संलग्न देशहरूलाई उनीहरूले के गरिरहेका छन् भन्ने थाहा हुन्छ भन्ने सोच्छन् । तर वास्तवमा यदि अघिल्ला युद्धहरू हेर्नुहुन्छ भने जस्तो पहिलो विश्व युद्ध अन्ततः जे भयो त्यो अचानक भयो र विरोधीहरूबीचको गलतफहमीका कारण भयो ।’

म्याकमिलनका अनुसार अस्ट्रिया–हंगेरीका सम्राट फ्रान्ज जोसेफका भतिजा आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्या नै १९१४ मा प्रथम विश्वयुद्ध सुरु गर्ने घटनाहरूको शृंखलाको सुरुवात थियो ।

केही हप्तामै गठबन्धनहरूको एक समूहले सम्पूर्ण युरोपलाई यस संघर्षमा ताने । अस्ट्रिया–हंगेरीले सर्बियाविरुद्ध कदम चाल्यो । त्यसपछि जर्मनीले अस्ट्रियालाई र रूसले सर्बियालाई समर्थन गर्दै सैनिक तयारी गरे ।

फ्रान्सले रूसको साथ दियो र बेलायतले सम्मान र रणनीतिक कारणले युद्धमा प्रवेश गर्‍यो । उनी भन्छिन्, ‘त्यसपछि जे भयो त्यो विश्वव्यापी विनाशमा परिणत भयो ।’

लन्डनको किंग्स कलेजमा अन्तर्राष्ट्रिय इतिहासका प्रोफेसर जाइ मायलोका अनुसार विश्वयुद्ध तब हुन्छ जब सबै प्रमुख शक्तिहरू त्यसमा संलग्न हुन्छन् ।

उनले भने, ‘प्रथम विश्वयुद्धमा युरोपेली साम्राज्यवादी शक्तिहरू थिए । दोस्रो विश्वयुद्धमा अमेरिका, जापान र चीन थिए ।’

आज धेरैले मध्यपूर्वको तनावलाई मुख्यतः क्षेत्रीय समस्या ठान्छन् । तर के यो अझ व्यापक रूपमा फैलिने सम्भावना छ ?

फेब्रुअरीमा बीबीसीलाई दिएको अन्तर्वार्तामा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति म्लामिदिर पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसकेको दाबी गरेका थिए र मस्कोलाई पछि हट्न बाध्य बनाउनुपर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘मलाई लाग्छ पुटिनले यो सुरु गरिसकेका छन् । प्रश्न भनेको उनले कति भूभाग कब्जा गर्छन् र उनलाई कसरी रोक्ने भन्ने हो ।’

तेस्रो विश्वयुद्धको जोखिम कति छ ?

म्याकमिलन भन्छिन्, ‘मलाई लाग्छ यसलाई बढाउन सक्ने देश इरान हुन सक्छ, वा इरानका सहयोगीहरू जस्तै यमनका हुथी ।’

उनका अनुसार इरानले समुद्री मार्गहरूमा हमला गर्नु वा होर्मुज जलडमरू बन्द गर्नुजस्ता कदमले विश्वव्यापी असर पारेको छ । यसले ऊर्जा आपूर्ति अवरुद्ध भएको भने निकट भविष्यमा प्रमुख शक्तिहरूलाई संलग्न गराउन सक्छ ।

उनी भन्छिन्, ‘अमेरिकाको सहभागिताले पनि अवस्थालाई अझ जटिल बनाउँछ । अन्य देशहरू प्रत्यक्ष रूपमा संलग्न नभए पनि आर्थिक वा रणनीतिक रूपमा प्रभावित हुन्छन् ।’

एक क्षेत्रमा भएको संघर्ष अर्को क्षेत्रमा तनावको कारण बन्न सक्छ । उदाहरणका लागि चीनले मध्यपूर्वमा व्यस्त पश्चिमी देशहरूका कारण ताइवानतर्फ कदम चाल्ने अवसर देख्न सक्छ वा रूसले युक्रेनमा आफ्नो गतिविधि बढाउन सक्छ ।

प्रोफेसर मायलो भने यसलाई क्षेत्रीयमै सीमित रहने मान्छन् र चीन वा रूस प्रत्यक्ष रूपमा संलग्न हुने सम्भावना कम देख्छन् । उनका अनुसार चीनले ताइवानमा आक्रमण गर्छ भन्ने धारणा पूर्ण रूपमा काल्पनिक हो । उनी भन्छन्, ‘रणनीतिक हिसाबले मध्यपूर्वमा अमेरिका व्यस्त हुनु चीनका लागि फाइदाजनक हुन सक्छ ।’

प्रथम विश्वयुद्धका बेला फ्रान्सका प्रधानमन्त्री क्लेमोंसोले भनेका थिए, ‘शान्ति स्थापना गर्नु युद्ध लड्नु भन्दा कठिन हुन्छ ।’ म्याकमिलनका अनुसार ठूलो क्षति भएपछि पनि नेताहरूले युद्ध जारी राख्ने निर्णय गर्छन् ।

उनी भन्छिन्, ‘गर्व पनि एउटा ठूलो कारण हो, जसको उदाहरणका रूपमा उनले पुटिनलाई उल्लेख गर्छिन् । चार वर्षअघि युक्रेनमाथि आक्रमण गर्दा पुटिनले ‘निरस्त्रीकरण र डी–नाजिफिकेशन’ गर्ने लक्ष्य राखेका थिए तर अझै त्यो पूरा भएको छैन ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार रूसलाई करिब १२ लाखभन्दा बढी हताहतको क्षति भएको अनुमान छ । म्याकमिलन थप्छिन्, ‘असफलता स्वीकार नगर्ने नेताहरूले संघर्षलाई अझ लम्ब्याउन सक्छन् ।’ उनी भन्छिन्, ‘विगतमा एडोल्फ हिटलरजस्ता नेताहरूले हार निश्चित भएपछि पनि युद्ध जारी राखेका थिए, जुन विचारधारा, अहंकार वा भ्रमबाट प्रेरित थियो ।’ यस्ता निर्णयहरूले साना संघर्षहरूलाई विनाशकारी युद्धमा रूपान्तरण गर्न सक्छन् ।

जब ठूला शक्तिहरू संलग्न हुन्छन्, परमाणु हतियार पनि तनाव नियन्त्रणमा महत्वपूर्ण हुन्छ । प्रोफेसर मायलो सहमत हुँदै भन्छन्, ‘इजरायल, अमेरिका र इरानले आफ्नो सीमासम्म पुगेको बुझ्नुपर्छ ।’ उनका अनुसार युद्ध जारी रहँदा कसैलाई पनि चाहेको परिणाम प्राप्त हुँदैन ।