लुम्बिनी प्रदेशमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सुरु, प्रधानसेनापतिद्वारा उद्‍घाटन

लुम्बिनी प्रदेशमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सुरु, प्रधानसेनापतिद्वारा उद्‍घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेपाली सेनाले ‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका साथ लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा एकसाथ ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ सुरु गरेको छ ।

आईतबार बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टरमा आयोजित विशेष समारोहबिच प्रधानसेनापति अशोक राज सिग्देलले पहिलो चरणको सम्मेलनको उद्‍घाटन गरे ।

अवकाश प्राप्त सैनिकहरूसँग निरन्तर सम्पर्क कायम राख्ने, कल्याणकारी कार्यबारे सुझाव संकलन गर्ने र सैनिक कोषको स्थायित्वमा जोड दिँदै पूर्वसैनिकहरूको जीवनलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा आयोजित कार्यक्रममा अवकाश प्राप्त सैनिकहरूले मार्चपाष्टका साथै विभिन्न मौलिक सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरेका थिए ।

सम्मेलनका अवसरमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलाहरूलाई विशेष सम्मान गरिएको थियो । स्वरोजगारमा संलग्न सर्वोत्कृष्ट तथा उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्र र पुरस्कार प्रदान गरिएको छ । मानवीय सहयोगअन्तर्गत फरक क्षमता भएका तथा अशक्त १८ जना भूतपूर्व सैनिकहरूलाई ह्वीलचेयर र बैसाखी वितरण गरिएको छ ।

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन ३ चरणमा सम्पन्न हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पहिलो चरणमा आईतबार लुम्बिनी प्रदेशका जिल्लाहरूमा, दोस्रो चरणमा चैत २५ गते पश्चिम पृतना अन्तर्गतका जिल्लाहरूमा र तेस्रो चरणमा आगामी २०८३ वैशाख ३ र ४ गते मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लाहरूमा कार्यक्रम हुनेछ ।

सम्मेलनले अवकाश प्राप्त सैनिकहरूको मर्यादा बढाउनुका साथै उनीहरूको सेवासुविधामा गुणात्मक सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।