खगेन्द्र सुनारलाई रास्वपाले साधारण सदस्यबाटै हटाउन सक्छ, सभामुखले दिए ग्रिन सिग्नल

खगेन्द्र सुनारलाई रास्वपाले साधारण सदस्यबाटै हटाउन सक्छ, सभामुखले दिए ग्रिन सिग्नल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र महिलालाई अश्लिल गाली गरेको टेलिफोन संवाद बाहिरिएपछि विवादमा तानिएका सांसद् खगेन्द्र सुनारमाथि हदैसम्मको कारबाही हुनुपर्ने आवाज उठेको छ ।

पार्टी पंक्तिभित्र सुनारले महिलामाथि गरेको व्यवहार अक्षम्य रहेको भन्दै कारबाही गर्न नेतृत्वमाथि चर्को दबाब छ ।

यहीबीच बिहीबार सभापति रवि लामिछानेले कारबाहीको प्रक्रिया र त्यसले पार्न सक्ने सम्भावित प्रभावबारे सभामुख डोलप्रसाद अर्याल (डिपी)सँग परामर्श गरेका छन् ।

श्रोतका अनुसार सभापति रवि लामिछाने सांसद सुनारलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने मनस्थितिमा छन् ।

सभामुख अर्यालसँग उनले त्यही धारणा राखेको संघीय संसद् सचिवालय श्रोतले काठमाण्डु पाटीलाई जानकारी दिएको छ ।


सिंहदरबारस्थित संसद् सचिवालयमा भएको लामिछाने र सभामुख अर्यालबीचको भेटवार्ता करिब २० मिनेट चलेको थियो । भेटमा सुनारमाथि भइरहेको विवाद, पार्टीले लिन सक्ने कारबाही र त्यसको संसदीय प्रक्रियामा पर्न सक्ने प्रभावबारे छलफल भएको स्रोतले बतायो ।

आफूसँग ‘लिभिङ टुगेदर’ मा बसेकी महिलालाई अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन् ।

उक्त प्रकरणमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको छ । पार्टीले उनलाई संसदीय गतिविधिमा सहभागी नहुन तथा सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा उपस्थित नहुन निर्देशनसमेत दिइसकेको छ ।


यसअघि बिहीबार निर्वाचन प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमिति बैठकमा सुनार अनुपस्थित थिए ।

लामिछानेले पार्टीले सदस्यताबाट हटाउने निर्णय गरेमा संसदीय प्रक्रिया कसरी अगाडि बढ्छ र जनमतमा के कस्तो प्रभाव पर्न सक्छ भन्ने विषयमा सभामुखसँग चासो राखेका थिए ।

जवाफमा सभामुख अर्यालले पार्टीले आफ्नो निर्णयबाट सदस्यता खारेज गर्न सक्ने र त्यसअनुसार संसद्ले आवश्यक प्रक्रिया अघि बढाउन सक्ने संकेत दिएको स्रोतले बतायो ।

यसलाई लामिछानेले सुनारमाथि थप कारबाही अघि बढाउन सकिने विषयमा सभामुखको सकारात्मक संकेतका रूपमा लिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार छलफलमा सुनारलाई पार्टीबाट हटाउँदा राजनीतिक र सामाजिक रूपमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण भएको थियो ।

पार्टीमा आबद्ध हुनुअघि चर्चित अभियन्ताका रूपमा सक्रिय रहेका र दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद भएकाले उनलाई हटाउँदा त्यसले पार्टी र सम्बन्धित समुदायमा पार्न सक्ने प्रभावबारे पनि छलफल भएको बताइएको छ ।


महिलामाथि अश्लील गालीगलौज गरेको अडियो सार्वजनिक भएको घटनालाई रास्वपाले गम्भीर रूपमा लिएको छ । सांसदका रूपमा निर्वाह गर्नुपर्ने न्यूनतम नैतिक जिम्मेवारी र सामाजिक मर्यादासमेत उल्लंघन भएको निष्कर्षमा रास्वपा पंक्ति छ ।