काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २ सय ७ रन बनाउँदै अलआउट भयो ।
बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पाण्ड्याले समान दुई विकेट तथा सुयाष शर्माले एक विकेट लिए । चेन्नईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाए । टस हारेर ब्याटिङमा आएको बैंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २ सय ५० रन बनाएको थियो ।
जितसँगै बैंगलुरुले प्रतियोगितामा चार अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । अहिलेसम्म तीन खेल खेलेको चेन्नई तीनै खेलमा पराजित हुँदै अंकविहीन छ ।
यस्तै आइतबार दिउँसो नै भएको खेलमा लखनउले विजयी सुरुवात गरेको छ । ऋषभ पन्तको अर्धशतकसँगै लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हरायो । यस सिजनको लखनउको यो पहिलो जित हो ।
जितबाट पहिलो दुई अंक जोडेको लखनउ अंक तालिकाको ७ औँ स्थानमा छ । राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हैदरावादले दिएको १ सय ५७ रनको लक्ष्य लखनउले १९ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको हैदरावादले लखनउविरुद्ध निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । तीन खेल खेलेको सनराइजर्स तालिकाको ५ औँ स्थानमा छ ।
आईपीएलमा सोमबार पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । खेल कोलकाताको इडेन गार्डन क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।




प्रतिक्रिया