सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने बताए ।
‘कर्णालीमा अवसर धेरै छन् तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ ।’ उनले परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
‘हामीले उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर बन्न सक्छौं,’ कँडेलले भने, ‘कृषि, जडीबुटी, जलविद्युत् र पर्यटनमा ठूलो सम्भावना छ, यसमा निजी क्षेत्रले लगानी बढाउनुपर्छ ।’
सरकार निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे । उनले लगानीमैत्री वातावरण निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
लगानीकर्तालाई प्रोत्साहन, नीतिगत सुधार तथा आवश्यक पूर्वाधार विकासमा सरकार लागिपरेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
कार्यक्रममा उनले सरकारी अनुदानको दुरुपयोग हुने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे । अनुदान पाउँदा मात्र काम गर्ने र पछि छोड्ने गलत अभ्यास अन्त्य गर्नुपर्ने उनले बताए ।
‘सरकारी रकमको सदुपयोग हुनुपर्छ,’ उनले भने, ‘काम सकिएपछि छोड्ने होइन, त्यसलाई निरन्तरता दिने दीर्घकालीन सोचका साथ परियोजना सञ्चालन गर्नुपर्छ ।’
मुख्यमन्त्री कँडेलले विकासका लागि सरकार, निजी क्षेत्र र नागरिकबिच सहकार्य आवश्यक रहेको बताए । ‘विकास एक्लै सम्भव हुँदैन, सबै क्षेत्रको सहकार्यबाट मात्र सम्भव हुन्छ,’ उनले भने, ‘कर्णालीलाई समृद्ध बनाउन सबै एकजुट हुनुपर्छ ।’




प्रतिक्रिया