प्रधानमन्त्री बालेनले विदेशी राजदूतलाई एक्लाएक्लै भेटेनन्, भोलि सामूहिक भेट

प्रधानमन्त्री बालेनले विदेशी राजदूतलाई एक्लाएक्लै भेटेनन्, भोलि सामूहिक भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म समेत उनले विदेशी राजदूतसँग भेट गरेका छैनन् । अब उनले भोलि बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाल समेतलाई राखेर विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार भोलि बिहान करीब ११ बजेतिर हुने विदेशी राजदूतको सामूहिक भेटवार्तामा पहिलोपटक प्रधानमन्त्री सहभागी हुनेछन् । भारत, चीन, अमेरिका, बेलायत लगायत देशका राजदूतलाई सामूहिक भेटका लागि बोलाइएको छ ।

विगतका प्रधानमन्त्री नियुक्त भएलगत्तै कूटनीतिक मर्यादाविपरीत राजदूतहरूको भीड लाग्ने र बालुवाटारसम्मै सहज पहुँच हुने गरेको अवस्थामा बालेनले राजदूतहरूलाई सहज भेट दिएका छैनन् । बालेनसँगको विदेशी राजदूतको पहिलो भेट सामूहिक रूपमा हुनेछ, जसले गर्दा सबै विदेशी राजदूतले आफ्नो देशको मात्रै स्वार्थ हेरेर कुनै कुरा राख्ने वातावरण बन्ने छैन ।

प्रधानमन्त्री बालेन कूटनीतिक मर्यादा पालनामा प्रतिबद्ध रहेका बताउँदै उनीनिकट स्रोतले नयाँ प्रधानमन्त्रीले कूटनीतिक सम्बन्धको नयाँ मानक स्थापित गर्न चाहेको जनाएको छ । ‘सामान्य कुराका लागि प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने हुन्न, परराष्ट्रमन्त्री स्तरमै कतिपय कुरा गर्न सकिन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने अत्यावश्यक र गम्भीर विषयबाहेक प्रधानमन्त्रीले विदेशी राजदूतलाई नभेट्ने प्रणाली विकास हुनसक्छ ।’