काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले बुधबार विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार बिहान करीब ११ बजे विदेशी राजदूतसँग सामूहिक भेटवार्ता तय भएको हो ।
प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेशशी भेटघाट हो । बालेन प्रधानमन्त्री भएयता कुनै पनि विदेशी राजदूतसँग भेटघाट गरेका छैनन् ।
भेटघाटका लागि भारत, चीन, अमेरिका, बेलायत लगायत देशका राजदूतलाई बोलाइएको छ । उक्त भेटघाटमा परराष्ट्रमन्त्री शिशिर खनाल समेत सहभागी रहनेछन् ।
विगतका प्रधानमन्त्री नियुक्त भएलगत्तै कूटनीतिक मर्यादाविपरीत राजदूतहरूको भीड लाग्ने र बालुवाटारसम्मै सहज पहुँच हुने गरेको अवस्थामा बालेनले राजदूतहरूलाई सहज भेट दिएका छैनन् ।
प्रधानमन्त्री बालेन कूटनीतिक मर्यादा पालनामा प्रतिबद्ध रहेका बताउँदै उनीनिकट स्रोतले नयाँ प्रधानमन्त्रीले कूटनीतिक सम्बन्धको नयाँ मानक स्थापित गर्न चाहेको जनाएको छ ।
‘सामान्य कुराका लागि प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने हुन्न, परराष्ट्रमन्त्री स्तरमै कतिपय कुरा गर्न सकिन्छ,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई नै भेट्नुपर्ने अत्यावश्यक र गम्भीर विषयबाहेक प्रधानमन्त्रीले विदेशी राजदूतलाई नभेट्ने प्रणाली विकास हुनसक्छ ।’




प्रतिक्रिया