काठमाडौं – सरकारले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पानी जहाजमा काम गर्ने नागरिकहरुका लागि ‘सी म्यान’ राहदानीको व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् ।
आईतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७५’ माथिको छलफलमा भाग लिँदै उनले पानी जहाजमा काम गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्न पनि सो राहदानी दिने कानुनी व्यवस्था गर्न लागिएको स्पष्ट पारे ।
परराष्ट्रमन्त्री ज्ञवालीले राहदानी लागि दुरुपयोग हुन नदिन विद्युतीय राहदानीको पनि व्यवस्था गर्न लागिएको बताए । राहदानी मुलुकको प्रतिष्ठासँग जोडिएको डकुमेन्ट भएकाले यसको स्तरोन्नति पनि गर्ने मन्त्री ज्ञवालीको योजना छ । बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई कूटनीतिक राहदानी लिन अप्ठयारो बनाउने गरी विधेयकमा प्रावधान राखिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
समितिका सदस्य एवम् नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले कानुनले परिभाषित गरेका ‘सांसदहरुलाई पनि कूटनीतिक राहदानी लिन संसद सचिवालयको सिफारिस चाहिने’ भनि विधेयकमा गरिएको व्यवस्थाप्रति आपत्ति जनाउनु भएको हो । उनले कानुनी मान्यता प्राप्त सांसदहरुलाई सांसद भएकै मितिबाट जहिले पनि कूटनीतिक राहदानी लिन पाउने सहज व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
समितिका अर्का सदस्य राधेश्याम अधिकारीले स्पष्ट ऐनमै व्यवस्था गर्नुपर्ने कतिपय विषयलाई पनि सरकारले निर्दे्शिका र कार्यविधिको भरमा अघि बढाउने गरी सो विधेयक आएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले राहदानीको कानुनी व्यवस्था गर्दा नियमावली र कार्यविधितर्फ भर नपर्ने प्रावधान राख्न पनि सरकारलाई सचेत गराए । समितिका सदस्यहरुले राहदानीको दुरुपयोग हुन नदिन पनि सरकारलाई सचेत गराएका थिए ।




प्रतिक्रिया