ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो

ओलीको गम्भीर आरोप : सामाजिक सञ्जालसँगै सुरक्षा निकाय पनि प्रयोग गरेर एमालेलाई हराइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यहोरेको पछिल्लो निर्वाचनको धक्का आन्तरिक कमजोरीका कारण मात्रै नभई निर्वाचनअघि नै आफू नेतृत्वको सरकार विस्थापन गर्ने प्रक्रियाबाट सुरु भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल, एल्गोरिदम र सुरक्षा निकायको प्रयोग गरेर एमालेलाई जनताबाट टाढा पुर्‍याइएको तथा निर्वाचनमा पराजित गरिएको आरोप लगाएका छन्।

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले निर्वाचन परिणामलाई मात्रै हेरेर एमालेको पराजयको विश्लेषण गर्न नहुने बताए। निर्वाचनअघि भएका ध्वंसात्मक गतिविधि र आक्रमणले पार्टीलाई प्रतिरक्षात्मक अवस्थामा पुर्‍याएको उनको भनाइ थियो।

‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन। राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ। त्यति नबुझी राजनीति बुझिँदैन’, ओलीले भने।

उनले प्राविधिक विषयलाई मात्रै आधार बनाएर एमालेको आन्तरिक कमजोरीका कारण सरकार विस्थापन भएको निष्कर्ष निकाल्न नहुने बताए।

‘एल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्‍याइयो। हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो’, ओलीले आरोप लगाए।

सम्बोधनका क्रममा ओलीले राजनीतिक प्रतिस्पर्धीहरूलाई मौसमी छिचिमिराको संज्ञा दिँदै उनीहरूसँग डराउनुपर्ने अवस्था नरहेको टिप्पणी गरे। बर्खायाममा निस्कने छिचिमिराको आयु लामो नहुने उदाहरण दिँदै उनले यस्ता प्रवृत्तिविरुद्ध संघर्ष गरेर एमालेले विजय हासिल गर्ने दाबी गरे।

‘यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छन्। कतिपय आफैँ भुइँमा झर्छन्। यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ’, उनले भने।

ओलीले समाजलाई भ्रम र निराशाबाट मुक्त गर्दै पुनर्जागरणको दिशामा अघि बढाउने नेतृत्व एमालेले गर्ने दाबीसमेत गरे।