एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार चीनको सेन्जेनमा द्विपक्षीय वार्ता भएको छ ।
३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको भेटलाई दुई शक्तिराष्ट्रबीचको सम्बन्ध सुधारका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
वार्तामा विश्व व्यापार, आणविक हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय अमेरिका र चीनबीच व्यापार तथा रणनीतिक विषयमा तनाव बढिरहेका बेला भएको यो भेटलाई चासोका साथ हेरिएको छ ।
यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेट गरेका थिए । उनले पुटिनसँगको भेट सकारात्मक हुने विश्वास व्यक्त गर्दै त्यसपछि थप बैठक हुन सक्ने बताएका थिए ।
ट्रम्पले अमेरिका, चीन र रुसका तीन नेताबीच साझा हित तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने उद्देश्यले त्रिपक्षीय बैठकको प्रस्तावसमेत अघि सारेका छन् । उनले यसलाई ऐतिहासिक अवसरको संज्ञा दिएका छन् ।
प्रस्तावित बैठकमा आणविक हतियार नियन्त्रण, इरानसँगको द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसैबीच, सी चिनफिङ र पुटिनबीच पनि सेन्जेनमा वार्ता भएको थियो । भेटमा दुवै नेताले चीन–रुस सम्बन्ध थप सुदृढ बनाउने तथा बहुध्रुवीय विश्व व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अमेरिका, चीन र रुसबीच सम्भावित त्रिपक्षीय छलफललाई नयाँ स्टार्ट आणविक हतियार नियन्त्रण सन्धिको समाप्तिपछि थप महत्त्वका साथ हेरिएको छ । अमेरिकाले चीनलाई पनि आणविक हतियार कटौतीसम्बन्धी वार्तामा सहभागी गराउन चाहेको छ ।
तर चीनले अमेरिका र रुससँग आफ्नो तुलनामा निकै ठूलो आणविक हतियार भण्डार रहेको भन्दै यस्तो वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।



प्रतिक्रिया