इरानदेखि युक्रेन युद्धसम्म : ट्रम्प, सी र पुटिनको बैठकका पाँच पेचिला मुद्दा

इरानदेखि युक्रेन युद्धसम्म : ट्रम्प, सी र पुटिनको बैठकका पाँच पेचिला मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सेन्जेन- विश्व राजनीतिका तीन प्रभावशाली शक्ति राष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरू आज एउटै टेबलमा बसेर पाँच महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने तयारीमा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच चीनको सेन्जेनमा जारी एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा त्रिपक्षीय बैठक हुने बताइएको छ।

बैठकको केन्द्रमा इरान युद्ध, रुस-युक्रेन युद्ध, आणविक हतियार नियन्त्रण, अमेरिका-चीन व्यापार तनाव र रुसमाथिको कूटनीतिक बहिष्कार अन्त्य गर्ने विषय रहनेछन्।

तीन शक्ति राष्ट्रका नेताहरूबीचको यो सम्भावित बैठकलाई अन्तर्राष्ट्रिय राजनीतिमा विशेष महत्त्वका साथ हेरिएको छ। विश्वका प्रमुख शक्ति राष्ट्रहरूबीच बढ्दो प्रतिस्पर्धा, क्षेत्रीय युद्ध र व्यापारिक तनावका बीच हुन लागेको छलफलले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

पाँच प्रमुख एजेन्डा

१. इरान युद्ध र मध्यपूर्वको तनाव

बैठकको प्रमुख एजेन्डामध्ये ६ महिनादेखि जारी इरान युद्ध रहनेछ। मध्यपूर्वमा जारी युद्धले क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावबारे तीन नेताबीच छलफल हुने अपेक्षा गरिएको छ। विशेषगरी इरानसँग सम्बन्धित सुरक्षा चुनौती र युद्धको सम्भावित निकासबारे उनीहरूको धारणा महत्त्वपूर्ण हुनेछ।

२. रुस-युक्रेन युद्धको अन्त्य

रुस-युक्रेन युद्ध अर्को महत्त्वपूर्ण एजेन्डा हो। युद्ध अन्त्यका लागि कूटनीतिक पहल, सम्भावित वार्ता र अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिका बैठकमा उठ्नेछ। अमेरिका र रुसबीचको सम्बन्ध तथा युक्रेन युद्धप्रति चीनको दृष्टिकोणले यस विषयलाई थप महत्त्वपूर्ण बनाएको छ।

३. आणविक हतियारको संख्या घटाउने विषय

विश्वका प्रमुख आणविक शक्ति राष्ट्रहरूबीच आणविक हतियारको होडबाजी नियन्त्रण गर्ने विषयमा पनि छलफल हुने बताइएको छ। आणविक हतियारको विस्तार रोक्ने, रणनीतिक प्रतिस्पर्धा कम गर्ने र विश्वव्यापी सुरक्षा जोखिम न्यूनीकरण गर्ने विषय यस एजेन्डामा समेटिनेछन्।

४. अमेरिका-चीन व्यापार युद्ध र ट्यारिफ

अमेरिका र चीनबीचको व्यापारिक तनाव पनि बैठकको महत्त्वपूर्ण विषय हुनेछ। दुई देशबीचको आयात-निर्यात, भन्सार शुल्क (ट्यारिफ), व्यापारिक अवरोध र आर्थिक प्रतिस्पर्धाले विश्व अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल हुन सक्नेछ।

५. रुसमाथिको कूटनीतिक बहिष्कार अन्त्य गर्ने विषय

युक्रेन युद्धपछि रुसमाथि पश्चिमा मुलुकहरूले लगाएको कूटनीतिक तथा आर्थिक दबाब र अन्तर्राष्ट्रिय मञ्चहरूमा रुसको सहभागिताको विषय पनि बैठकको एजेन्डामा रहनेछ। रुसको अन्तर्राष्ट्रिय सम्बन्ध सामान्य बनाउने सम्भावना र विश्व कूटनीतिमा उसको भूमिकाबारे छलफल हुने अपेक्षा गरिएको छ।

ट्रम्प-पुटिन ४२ मिनेट वार्ता, सीसँग छुट्टै भेट

त्रिपक्षीय बैठकअघि ट्रम्प र पुटिनबीच एपेक सम्मेलनकै क्रममा करिब ४२ मिनेट अनौपचारिक भेटवार्ता भएको छ। अमेरिकी अधिकारीहरूले उक्त भेटलाई ‘पुल-असाइड’ अर्थात् औपचारिक कार्यसूचीबाहिरको संक्षिप्त छलफल भनेका छन्।

भेटपछि ट्रम्प सेन्जेनस्थित सरकारी रिसोर्ट काइलिन भिल्लातर्फ प्रस्थान गरेका थिए। त्यहाँ उनको चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय बैठक भएको छ। त्यसपछि तीन नेताबीच संयुक्त छलफल हुने कार्यक्रम रहेको छ।

बुधबार साँझ आयोजित स्वागत रात्रिभोजमा पनि ट्रम्प, सी र पुटिन एकै ठाउँमा देखिएका थिए। बिहीबार एपेक नेताहरूको सामूहिक तस्बिरमा समेत तीनै नेता सहभागी भएका थिए।

करिब ८० वर्षअघि दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ मा अमेरिकाका राष्ट्रपति फ्र्याङ्कलिन रुजवेल्ट, बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिनबीच याल्टा सम्मेलन भएको थियो। उक्त सम्मेलनमा युद्धपछिको युरोपको व्यवस्था र जर्मनीको भविष्यबारे छलफल भएको थियो।

अहिले अमेरिका, चीन र रुसका वर्तमान राष्ट्रप्रमुखहरू एउटै मञ्चमा जुट्नुलाई पनि विश्व कूटनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।