काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयले बुधबार संघीय संसद् सचिवालयलाई पत्र पठाउँदै सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउन र सदस्यहरूको उपस्थितिका लागि आह्वान गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थद्वारा प्रेषित पत्रअनुसार चैत २७ गते दिउँसो ३:०० बजे संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठक बस्ने तय भएको छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था छ ।
२०८२ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ सरकार र नयाँ संसद्मा राष्ट्रपति पौडेलको पहिलो सम्बोधन हुन लागेको छ ।





प्रतिक्रिया