काठमाण्डु – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भइरहेका प्रचारबाजीलाई ‘भ्रामक र झुटा’ भन्दै खण्डन गरेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले उनको परिवारमाथि अनुसन्धान सुरु गरेको समाचारहरू सार्वजनिक भएपछि विदेशमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।
देउवाले आफू सार्वजनिक पदमा रहँदा प्रचलित कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा बुझाउँदै आएको स्पष्ट पारेका छन् । ‘देशमा लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन र पारदर्शिताका लागि मैले सिङ्गो जीवन संघर्षमा व्यतित गरेको हुँ,’ उनले भने, ‘मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ ।’
आफू गृहमन्त्री रहँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन ल्याउन आफ्नै अग्रसरता रहेको स्मरण गराउँदै देउवाले भ्रष्टाचारमुक्त समाज र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए । उनले राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्ने आफ्नो मान्यता रहेको समेत बताए ।
हाल स्वास्थ्य उपचारका लागि परिवारसहित विदेशमा रहेका देउवाले उपचारको क्रम अझै जारी रहेको जानकारी दिए । वास्तविकता समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गर्दै उनले अतिरञ्जित विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गरे । देउवाको प्रष्टीकरणसँगै पछिल्लो समय उनको सम्पत्तिलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीहरूले नयाँ मोड लिएको छ ।




प्रतिक्रिया