सुर्खेत – कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले राजीनामा दिएका छन् ।
दोस्रो कार्यकालका लागि नियुक्त भएका सचिव बुढाथोकी विभिन्न विवादमा मुछिएपछि राजीनामा दिएका हुन् ।
६५ वर्ष उमेरहदका कारण स्वच्छिक अवकासमा लिनुपर्ने सचिवले सचिवालयमा व्यक्तिगत फाइल लुकाएको, स्वकीय सचिव आफ्नो श्रीमतीलाई राखेर घरबाटै हाजिर गराएर तलब भत्ता बुझेको तथा दोहोरो सुविधा लिएको आरोपमा मुछिएका थिए ।
सचिव बुढाथोकीले मंगलबार राति प्रदेश प्रमुखलाई राजिनामा पत्र बुझाए हुन । सचिवको राजिनामा प्रदेश प्रमूख यज्ञराज जोशी बुधबार स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव पदमलाल लामिछानेका अनुसार गत चैत्र १७ गतेदेखि लागू हुने गरी प्रदेशसभा सचिव बुढाथोकीको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
‘सचिव बुढाथोकीले घरायसी कारण देखाई माननिय सभामुखमार्फत सिफारिससहित दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नु भएको छ,’ लामिछानेले भने । सचिव बुढाथोकी २०७६ जेठ १२ मा प्रदेश सचिवालयका सचिवमा नियुक्त भई ५ वर्षे पहिलो कार्यकाल सकिएपछि २०८१ जेठ १३ मा दोस्रो पटक दोहोरिएका थिए ।
किन दिए सचिव बुढाथोकीले राजीनामा ?
पहिलो कार्यकालदेखि सचिव रहेका बुढाथोकी गत जेठ महिनादेखि सचिव दोहोरिएका थिए । चैत्र १६ गते ६५ उमेरहद पूरा गरेका बुढाथोकीलाई सभामुख नन्दा गुरुङले निरन्तरता दिन चाहे पछि उनका एक पछि अर्को विवाद बाहिरएका थिए । कर्णाली प्रदेश सभा सचिवालय सम्बन्धी ऐन २०७५ अनुसार सचिवको उमेरहद ४० बर्ष नाघेर ६५ वर्ष ननाघेको हुनु पर्ने प्रावधान छ । उमेरहद नाघिसकेपछि पनि पदमा दोहोरिन चाहे पछि उनका अन्य कर्तुतहरू पनि बाहिरिएका थिए ।
उनले पहिलो कार्यकालदेखि नै आफ्नै श्रीमती रुक्मिना बुढाथोकीलाई निजी सचिवमा नियुक्ति दिएर राखेर २५ लाख ५६० रुपैया बुझेको उनको खातामा भुक्तानी दिएका थिए । मासिक ३४ हजार ७ सय ३० रुपैयाँ तलब भुक्तानी हुने गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । सचिव बुढाथोकीले दोहोरो सुविधा लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परेको थियो । सचिवालयका अनुसार यो रकम उनले २०८१ असारसम्म उनले दोहोरो सुविधा लिएका हुन् ।
प्रदेश सभाको सचिव पदमा रहँदा तलब, भत्ता तथा अन्य सुविधाहरू दोहोरो बुझेको भन्दै अख्तियारमा उजुरी परे पछि २०८२ जेठ १४ गते निवृत्तिभरण व्यवस्थापनको कार्यालयमा पेन्सन बेरुजु दाखिलाबापत ३१ लाख ६९ हजार ९२३ रुपैयाँ फिर्ता गरेका थिए ।




प्रतिक्रिया