काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई पदबाट हटाउने तयारी गरेको छ। महोत्तरी–२ बाट निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि उनलाई मन्त्री पदबाट फिर्ता बोलाउने तयारी भएको हो।
रास्वपाको अनुशासन समितिले हाल मन्त्री शाहमाथि छानबिन गरिरहेको स्रोतले जनाएको छ। पार्टीको ‘राइट टु रिकल’ नीति अनुसार उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको बताइएको छ।
श्रममन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि उनी विवादमा परेका हुन्। २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले श्रेष्ठलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। तर, बैठकमा लगातार अनुपस्थित भएपछि बोर्डले उनलाई निलम्बनका लागि पत्र पठाएको थियो।
पछि शाह मन्त्री नियुक्त भएपछि श्रेष्ठ पुनः बोर्डमा फर्किएको विषयले आलोचना बढेको हो। मन्त्री शाहकै योजनामा श्रेष्ठलाई बोर्डमा पुनः पठाइएको प्रमाण जुटिसकेको दाबी गर्दै रास्वपा स्रोतले छिट्टै कारबाही हुने संकेत दिएको छ।




प्रतिक्रिया