काठमाण्डु – एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्मा दिएको भाषणलाई लिएर पार्टी भित्र विवाद बढेको छ ।
थापाले संसद्मा आफूले बोलेको कुरा आफ्नो व्यक्तिगत धारणा नभई पार्टीको लाइनपनि भएको दाबी गरेपछि पार्टीका संस्थापन इतरका नेताहरू असन्तुष्ट छन् ।
बादलले संसद्को पहिलो बैठकमा हालै भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जित नेपाली सेना, निजामती कर्मचारी र अन्तर्राष्ट्रिय समुदायको निर्णायक भूमिकाका कारण भएको दाबी गरेका थिए ।
थापाको भनाइ पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डेसहितका नेताहरूले आपत्ति जनाएका थिए ।
त्यसको भोलिपल्टै बसेको सचिवालय बैठकले बादलको अभिव्यक्ति सच्याउँदै नेपाली सेनालगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन, ब्युरोक्रेसी र अन्तर्राष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् र मित्रवत् रहेको निष्कर्ष निकालेको थियो ।
सचिवालयले थापाको भनाइ सच्चयाएकै भोलिपल्ट उनले संसद्मा आफूले बोलेको विषय पार्टीको नीतिअनुसार नै भएको दाबी गरे ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा बादलले आफूले पार्टीकै लाइनअनुसार संसद्मा बोलेको बताए । त्यति मात्र होइन उपाध्यक्ष पौडेलको नामै तोकेर आफ्नो भनाइले पार्टीभित्र लुकेका दक्षिणपन्थी प्रवृत्ति र दुस्मनहरूलाई उदांगो पारेको टिप्पणी गरे ।
‘संसदीय दलको नेताका हैसियतले आफूले संसद्मा व्यक्त गरेका विचार पार्टीका स्थापित नीति र मान्यताअनुरूप छ’, पोखरामा थापाले भने ।
थापाकोे पछिल्लो दुई भनाइले पार्टीभित्रको विवाद झन चर्किएको छ । थापाका भनाइप्रति विभिन्न नेताहरू सामाजिक सञ्चालमा प्रंतिक्रिया दिएका छन् ।
फागुन २१ को निर्वाचनमा कमजोर परिणाम आएको र पार्टी पुनर्गठनको मुद्दा चर्किँदै गएका बेला पार्टीका शीर्ष नेताहरू एकपछि अर्को गर्दै आरोप–प्रत्यारोपमा उत्रिरहेकै बेला नयाँ विवाद सुरु भएको हो ।
माओवादी पृष्ठभूमिबाट आएका बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दल दुवैको जिम्मेवारी दिएपछि नै असन्तुष्टि बढेको छ । त्यसमाथि उनको भनाइले पनि नेताहरू असन्तुष्ट बनेका छन् ।
बादलको यस्तो अभिव्यक्ति दोहोरिएपछि एमाले नेता सूर्य थापाले कार्यवाहक अध्यक्ष, उपाध्यक्ष र उपमहासचिव सार्वजनिक रूपमा विवादमा उत्रिएको भन्दै प्रश्न गरेका छन् ।
‘पार्टीका कावा अध्यक्ष र उपाध्यक्ष, उपमहासचिवबिच नै व्यक्तिगत भेट र संवाद हुँदैन कि ? सार्वजनिक/सोसल मिडिया नै बहसको रोजाइ पो बनाइएका छन्’ नेता सूर्य थापाले फेसबुकमा लेखेका छन् ।
एमाले उपाध्यक्ष पौडेल निकट मनिएका नेता खिमलाल भट्टराईले पनि बादलको अभिव्यक्ति र भाषा शैली एमालेको नीति र परम्पराविपरीत भएको टिप्प्णी गरेका छन् ।
‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् प्रतिनिधिसभामा दलका नेता कमरेड रामबहादुर थापा ‘बादल’ ले हिजो चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेस गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङका विरुद्ध छ,’ नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले एमालेले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन् । ‘कब्जा, आक्रमण, दुस्मन आदि शब्दावली एमालेका होइनन् । जनताको बहुदलीय जनवादको मार्गदर्शन विल्कुल यो होइन । हामी कब्जा होइन, जनताको मन जितेर प्रतिस्पर्धामा श्रेष्ठ हुन्छौँ । कब्जा हाम्रो नीति होइन ।
हामीले आक्रमण होइन, शान्तिपूर्ण सङ्घर्षबाट विजय सुनिश्चित गर्छौँ । हामी प्रतिस्पर्धा गर्छौँ, दुस्मनी गर्दैनौँ । एमालेको सङ्घर्षको नीति यही हो,’ भट्टराईले लेखेका छन् ।

यसैगरी, उपमहासचिव योगेश भट्टराईले बादलको अभिव्यक्तिप्रति सङ्केत गर्दै ‘बादल मडारिएको र जबज निथ्रुक्कै भिजेको’टिप्पणी गरेका छन् ।
बिहीबारसामाजिक सञ्जालमा कवितात्मक शैलीमा बादलको छोटकरी कविता लेख्दै भनेका छन्
बादल मडारियो
मुसलधारे वर्षा भयो
जबज निथ्रुक्कै भिज्यो
मदन तीन छक्क पर्नुभयो
हामी हेरेको हेर्यै भयौ !
(स्वाट्ट बिउँझिएको त कोठामा घाम छिरिसकेको रहेछ)





प्रतिक्रिया