स्वास्थ्य मन्त्रालयले भन्यो-अस्पतालमा दुईदिन बिदा हुँदैन (विज्ञप्तिसहित)

स्वास्थ्य मन्त्रालयले भन्यो-अस्पतालमा दुईदिन बिदा हुँदैन (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा दुई दिन सार्वजनिक बिदा नहुने बताएको छ ।

इन्धन संकटका कारण सरकारले दुई दिन लगातार सार्वजनिक बिदा दिएपछि अस्पतालहरूले पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि मन्त्रालयले अस्पतालहरूमा दुई दिन बिदा नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिइने व्यवस्था लागू भएको र उक्त व्यवस्थाले ‘स्वास्थ्य सेवामा असर नपरोस्’ भन्ने उद्देश्यले आवश्यक निर्देशन जारी गरिएको जनाएको छ ।

विज्ञप्तिमा अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिको आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन भनिएको छ । साथै, कर्मचारीहरूलाई हप्तामा शनिबारबाहेक अर्को एकदिन बिदा दिने गरी दुईदिन बिदा सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ । यदि सो व्यवस्था सम्भव नभए सट्टा बिदा उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी, प्रादेशिक अस्पतालहरूमा समेत सोही व्यवस्था लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा नागरिकलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै बाधा नपर्ने गरी आवश्यक समन्वय गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।