सहमति नभए निर्वाचनबाट दल नेताको निर्णयमा पुगौं : सांसद केसी

सहमति नभए निर्वाचनबाट दल नेताको निर्णयमा पुगौं : सांसद केसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनमा अब ढिलाइ गर्न नहुने बताएका छन् ।

आईतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले सकेसम्म सहमतिको मापदण्ड बनाउन र सहमति नभए तत्काल निर्वाचन प्रक्रियामार्फत निर्णयमा पुग्न प्रस्ताव गरेका छन् ।

प्रमुख विपक्षी दलको नेता चयनका विषयमा पार्टीभित्र भइरहेको बहस र बाहिरको चासोलाई स्वाभाविक मान्दै उनले ‘को’भन्दा पनि ‘किन र कस्तो’ नेता भन्ने स्पष्ट मापदण्ड तय हुनुपर्नेमा जोड दिए । आफ्नो कारणले दलको नेता चयनमा ढिलाइ भएको भन्ने चर्चा तथा नातावाद र गुटबन्दीका भाष्यहरूलाई उनले असत्य र भ्रामक भनी खण्डन गरेका छन् ।

नेता केसीले भने, ‘मैले पार्टीभित्र र सार्वजनिक रूपमा नै भनिसकेको छु, सहमतिको मापदण्ड बनाऔँ र सकेसम्म सर्वसम्मति गरौँ, जसमा मेरो पूर्ण समर्थन हुनेछ । चाहे सबैभन्दा युवालाई गरौँ वा सबैभन्दा वरिष्ठलाई तर निर्णय न्यायोचित हुनुपर्छ ।’

सांसदहरूबिच प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट आएको आधारमा विभेद गर्न नहुने तर्क गर्दै उनले निर्वाचनमै जाने अवस्थामा पनि निश्चित मापदण्डका आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णय लिनुपर्ने उल्लेख गरेका छन् ।

‘संसदीय दलको नेता केवल पद होइन, प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘त्यसैले अब ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक छ ।’

सहमति जुट्न नसकेको अवस्थामा लोकतान्त्रिक विधिअनुसार तत्काल निर्वाचनमार्फत नेतृत्वको टुंगो लगाउनुपर्ने उनको अडान छ । विपक्षी दलको नेता चयनमा भइरहेको ढिलाइले संसदीय भूमिका कमजोर हुन सक्ने भन्दै केसीले यथाशीघ्र निकास खोज्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।