काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापाको नाम रथी बढुवाका लागि सिफारिस भएको छ । रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।
बोर्डले बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सैनिक स्रोतका अनुसार उक्त सूचना सोमबार प्रकाशित भएको हो ।
सेनाका रथी गणेश श्रेष्ठले अवकाश पाउने भएपछि रिक्त हुन लागेको पदमा थापाको नाम सिफारिस गरिएको हो । रथी पदका लागि अर्का उपरथी मधुकर कार्की पनि प्रतिस्पर्धामा छन् । दुवै जनाको बढुवा सिफारिस एकैपटक हुने अनुमान गरिए पनि प्रधानसेनापति अशोकराज सिग्देलले रिक्त हुन लागेको पदमा थापाको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाएका हुन् ।
रथी प्रदीपजंग केसी पनि उमेर हदका कारण आगामी मंसिर १५ गते अवकाशमा जानेछन् । उनको स्थानमा उपरथी कार्कीलाई रथीमा बढुवा गरिने अपेक्षा गरिएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देल आगामी भदौ २४ गते अवकाशमा जाने भएकाले अहिले रथीमा बढुवा हुने अधिकारीको भावी प्रधानसेनापति बन्ने बाटो खुल्नेछ । त्यसैले थापाको बढुवा सिफारिसलाई नेपाली सेनाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
बढुवाका लागि सिफारिस भएका थापा नेपाली सेनाको २८ बेसिकका सैनिक अधिकृत हुन् ।


प्रतिक्रिया