कांग्रेस कार्यबाहक अध्यक्ष बनेर खड्काले विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक आह्वान

कांग्रेस कार्यबाहक अध्यक्ष बनेर खड्काले विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशन र क्रियाशील सदस्यताको विषयलाई लिएर आन्तरिक विवाद चर्किएकै बेला उपसभापति पूर्णबहादुर खड्काले कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भएको छ ।

खड्काको विज्ञप्तिलगत्तै कांग्रेस केन्द्रीय अनुशासन समितिले आकस्मिक बैठक आह्वान गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खड्काले महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा भ्रममा नपर्न आग्रह गरे । उनले पार्टी विधानको वैधानिक व्यवस्थाबाहेक कसैले पनि आमसदस्यहरूको क्रियाशील सदस्यता खारेज गर्न नसक्ने स्पष्ट पारे । पञ्चायती व्यवस्थाको कठिन समयमा ज्यान जोखिममा राखेर लिएको सदस्यता कुनै नेताले आवेग वा लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने भन्दै उनले तत्कालीन महामन्त्री गगन थापा पक्षलाई लक्षित गरी चेतावनी दिए । खड्काले पार्टीलाई कमजोर बनाउने गतिविधि नगर्न र निर्धारित कार्यतालिकाभित्रै १५औँ महाधिवेशन सम्पन्न हुने दाबी गरे ।

खड्काले आफूलाई ‘कार्यबाहक सभापति’का रूपमा प्रस्तुत गर्दै विज्ञप्ति जारी गरेपछि अनुशासन समितिले यसलाई गम्भीरतापूर्वक लिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै आगामी २०८२ वैशाख २ गते बुधबारका दिन बिहान ११ बजे बीपी स्मृति भवन ललितपुरमा समितिको बैठक बस्ने जानकारी दिए ।

कांग्रेसभित्र पुरानो केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाबिच विवाद बढ्दै गएको छ ।

बुधबार बस्ने अनुशासन समितिको बैठकले खड्काको पछिल्लो कदमका विषयमा कस्तो निर्णय लिन्छ भन्ने कुरालाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ ।