काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा देशवासीका नाममा सम्बोधन गर्दै मुलुकको वर्तमान राजनीतिक र आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
आईतबार सन्देश जारी गर्दै उनले विगतका गल्तीबाट पाठ सिकेर सबै पक्षलाई समेट्ने गरी संवैधानिक समाधान खोज्न ढिलाइ नगर्न राजनीतिक दलहरूलाई आह्वान गरेका हुन् ।
पूर्वराजा शाहले विगतका वर्षहरूमा नेपाल विकासका दृष्टिले ओरालो लागेको र मुलुक केवल राजनीतिक प्रयोगशालामा सीमित भएको टिप्पणी गरे । ‘राजनीति, राज्य पद्धति र शासन प्रशासनमा निकै हेरफेर भए पनि त्यो कोरा परिवर्तन मात्र भयो,’ उनले भने, ‘दलदलको खलबलमा हामी धेरै दगुरियौँ तर राष्ट्रको श्रीवृद्धिमा पछि पर्यौँ ।’ विधि, पद्धति र व्यक्ति बदलेर मात्र स्थिति नसुध्रिने कुरा विगतले सिकाएको उनको तर्क छ ।
सम्बोधनका क्रममा उनले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नतालाई उत्साहजनक विषय भनी प्रशंसा गरेका छन् । पढेलेखेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
मुलुक चौतर्फी समस्याको चाङमा रहेको भन्दै पूर्वराजाले आर्थिक अवस्था उकास्न र बाह्य शक्तिहरूसँगको सद्भाव बढाउन ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । ‘आन्तरिक सुरक्षा प्रणाली अत्यन्तै नाजुक अवस्थामा छ,’ उनले भने, ‘नयाँ वर्षमा जीउधनको सुरक्षा र अत्यावश्यक वस्तुको संरक्षण गर्दै मानवीय सुरक्षाको प्रत्याभूति दिन राज्यको गहिरो ध्यान पुग्नुपर्छ ।’
निषेध, फुट र प्रतिशोधको राजनीतिले देश कमजोर हुने भन्दै पूर्वराजा शाहले संवाद, सहमति र सहकार्यको बाटो रोज्न आग्रह गरे । उनले भने, ‘जनचाहनालाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौँ । सबै पक्षको माग सम्बोधन हुने गरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौँ ।’
नेपाललाई आफ्नै मौलिक सनातन पहिचानबाट परिचालित र प्रतिष्ठित बनाउनुपर्नेमा जोड दिँदै उनले सम्बोधनको अन्त्यमा सबै नेपालीको कल्याणका लागि पशुपतिनाथसँग प्रार्थना गरेका छन् ।




प्रतिक्रिया